ओलीले आफू रहुञ्जेल पार्टीको झण्डा र चुनाव चिन्ह कब्जा गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंकको संज्ञा पनि दिए ।
उनले नेताहरुको नाम नलिई भने, ‘त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिन्छ । सच्चिएर आत्मालोचना गरेर आए सोच्न सकिन्छ, नत्र कारबाहीको प्रक्रिया अघि बढ्छ, बढाइन्छ ।’
आफूले निर्देशन दिँदादिँदै पनि छुट्टै भेला बोलाएको भन्दै उनले आक्रोश पनि व्यक्त गरे । ‘नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न मैले र महसचिवले निर्देशन दिँदादिदै पनि कथित भेला गरिएको छ,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारबाही गरिनेछ ।’
उनले एक फरक प्रसंगमा प्रचण्डलाई माधव नेपालसँग तुलना पनि गरे । नेपालभन्दा दाहाल प्रष्ट भएको उनले संकेत गरे । ‘बरु प्रचण्ड ह्वाङ्गै, छ्याङ्गै छन् । बुटवल र सिन्धुलीबाट सबै कुरा छ्याङै पारे,’ उनले भने ।
आफूलाई पार्टी सदस्यबाट हटाएको विगतलाई स्मरण गराउँदै उनले भने, ‘मलाई त अध्यक्ष र पार्टी सदस्यबाट हटाए, धन्न मेरो नागरिकता खोसेनन् । उनीहरुले पार्टी र झण्डा चुनाव चिन्ह कब्जा गर्न खोजेका थिए । केपी ओली भएसम्म त्यो सपना नदेखे हुन्छ ।’