प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्षे माओवादी सशस्त्र द्वन्द्वका कारण युवाहरु सुरक्षा र रोजगारीका लागि विदेश पलायन हुनु परेको बताएका छन् ।
शुक्रबार बेलुकी बालुवाटारमा उद्योगी व्यवसायीलाई सामूहिक रुपमा एमाले प्रवेश गराउने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले द्वन्द्वकै कारण युवा जनशक्ति विदेसिएको बताएका हुन् ।
‘त्यो द्वन्द्वको स्थितिले गाउँमा बस्न नसकेर मान्छे सहर आउने । सहरमा बस्न नसकेर विदेश भाग्ने । सुरक्षा र रोजगारीका हिसाबले युवाहरु विदेश पलायन भए ।’ उनले भने ।
खाडी मुलुकमा नेपाली कामदारको संख्या ४०–५० लाख पुग्नुमा अहिलेको सरकारको हात नरहेको उनले दाबी गरे ।
‘अहिलेको सरकारले पुर्याएको हो र ? किन पुगे मान्छे भन्दा त्यही द्वन्द्वका कारण मान्छे विदेश पुगे । हिजो एउटा द्वन्द्वको त्यो स्थिति बन्यो ।’ उनले भने, ‘उद्योगधन्दा बन्द भए । रोजगारी गुमे । साहुजीको त उद्योग डुब्यो । तर, पनि अलिकति डिपोजिट हुँदो हो । केही समय त चल्ला । तर त्यो विचराहरु जो ‘ह्याण्ड टु माउथ’ छ । उसको त केही समय चल्ला भन्ने आधार नै रहेन । डिपोजिट नभएकाको के भयो होला हालत ?’
न्यायोचित जैविक र मानवीय आवश्यकताको सहज आपुर्तिले मात्रै समृद्धि हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भाँडभैलो राजनीतिमा नहोस्, स्वच्छ राजनीति होस् ।’
खुशीहरुको संग्रहबाट सुख मिल्ने भएकाले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा तय गरिएको उनको भनाइ थियो ।