३ चैत, काठमाडौं । लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि ७६७ खेल खेलेलका हुन् । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा ५१० खेल खेलेका छन् । मेस्सीले खेलको १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै अग्रता दोब्बर पारे । हुएस्काका राफा मिरले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
तर बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो । ओस्कार मिगुएजाले मेस्सीको पासमा ५३औं मिनेटमा गोल गरे । मेस्सीले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ४-१ को सहज जित हात पारेको हो ।
जितपछि २७ खेलबाट ५९ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।