बिहीबार शिवरात्रि पर्व । आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्छ । त्यसैले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ ।
शिवरात्रिको दिन चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय महाशाखाले गरेको छ । यद्यपि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको ।
चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ ।
यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएको छ ।

फाईल तस्बिर