नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि चार जना कार्यकारी निर्देशकहरुको नाम सिफारिस गरेका छन् । राष्ट्र बैंक ऐन अनुसार गभर्नरले दुई जना डेपुटी गभर्नरका लागि चार जना कार्यकारी निर्देशकहरुको नाम सिफारिस गरेर अर्थमन्त्रालयमा बुझउनुपर्छ । सोही प्रस्तावलाई अर्थमन्त्रीले मन्त्रिपरिषद बैठकमा लैजाने व्यवस्था छ । मन्त्रिपरिषद बैठकले तिनै चार जना कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्न सक्छ ।
श्रोतका अनुसार डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकहरु डा प्रकाश श्रेष्ठ, देव कुमार ढकाल, डा गुणाकर भट्ट, निलम ढुङगानाको नाम सिफारिस भएको बुभिन्छ । अर्काे श्रोतले भने कार्यकारी निर्देशकद्धय भुवन कँडेल र नेफिल मटाङगी मास्के र श्रेष्ठ तथा ढकालको नाम सिफारिस भएको पनि बताए । उता, बम बहादुर मिश्रको नाम पनि सिफारिस भएको दावी गरेको छ ।
डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गते सकिएको थियो । राष्ट्र बैंकका १७ जना कार्यकारीहरु नै डेपुटी बन्न योग्य छन ।
हाल १२ नम्बरमा रहेका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठलाई पक्का डेपुटी गभर्नरका रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अर्थमन्त्री बिष्णु पौडेल नै श्रेष्ठका पक्षमा छन् । पोखरेलले श्रेष्ठलाई प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएका थिए भने अर्थमन्त्री पौडेलले आफ्नो आर्थिक सल्लाहकार बनाएर काम लगाईरहेका छन् ।
बाँकी रहेको एउटा डेपुटी गभर्नर पदका लागि भने कडा प्रतिष्पर्धा छ । ओली सरकारले निरन्तरता पाएमा डेपुटी बन्ने प्रतिष्पर्धाको अग्रपंक्तिमा कार्यकारी निर्देशक देव कुमार ढकाल छन् । मोरङका उनी नाताले पर्यटन मन्त्री भानुभक्त ढकालका आफन्त हुन् । उनी तत्कालिन नेकपा एमाले र अहिलेको ओली नेकपा निकट भएर विद्यार्थी राजनीति गरेका व्यक्ति पनि हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।