आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रचण्ड पक्षका नेता तान्न मैदानमै उत्रिए गृहमन्त्री बादल, प्रचण्डलाई बाईबाई भन्दै ओली समूहमा को–को ओइरिदैँछन् ? (नामसहित)


  • शुक्रबार, माघ २ २०७७
20.8K
SHARES

फाइल तस्विर

गृहमन्त्री रामबहादुर थापा (बादल) देशभरका पुराना तथा शान्ति प्रक्रियापछि उपेक्षामा परेका कार्यकर्ता समेट्ने प्रयासमा लागेका छन् ।

पार्टी विभाजनका क्रममा आफ्नो समूहका अधिकांश नेता प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि गृहमन्त्री बादल एक्सनमा उत्रिएका हुन् ।

 

ओली नेतृत्वको नेकपामा पूर्व माओवादीको हिस्सा समेट्नका लागि एक हजार ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समितिलाई पूर्णता दिइएको छैन ।

 

अचेल बादल, टोपवहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरु विभिन्न जिल्लाबाट पूर्व माओवादी नेता बोलाएर भेटघाट गरिरहेका छन् ।

 

शान्ति प्रक्रियामा आएपछि संसदीय राजनीतिमा जिम्मेवारी नपाएका र निराश भएर बसेकाहरुलाई समेट्ने नीति बादल पक्षले बनाएको छ ।

 

कतिपयलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग भेट गराएर आश्वस्त पार्न थालिएको स्रोतले जनाएको छ ।

 

अचेल दिनहुँ बादल र लेखराजको निवासमा विभिन्न जिल्लाका पूर्व माओवादी नेताहरुको भेटघाट बाक्लिएको छ ।

 

पूर्व माओवादी समूहकै केन्द्रीय नेताहरु कमल चौलागाई, विषमलाल अधिकारी दनुवार, गेल्बुसिंह बोहोरालगायत पनि ओली पक्षमा खुलेका छन् ।

 

बादललाई भेटेर फर्किएका एक पूर्व माओवादीका नेताले भने– हामीले उहाँलाई किन प्रचण्ड छाड्नुभयो भनेर सोध्यौं ।

 

उनले प्रचण्ड हिँडेको बाटो नै गलत भएकाले अहिले केपी ओलीकै नेतृत्वमा जाने भने ।

 

उनले यही सरकारले पूरै कार्यकाल काम गर्ने सम्भावना रहेको पनि बताए ।

 

बादलले विभिन्न तहका नेता कार्यकर्तासँगको भेटपछि कुन कमिटीमा राख्ने भनेर डायरीमा नाम टिप्ने गरेका छन् ।

 

विशेष गरी जनयुद्धकालमा काम गरेका र जिल्लाको अन्तरविरोधका कारण पछि परेकाहरुलाई समेट्ने रणनीतिमा बादल पक्ष लागेको छ ।

 

ओली पक्षमा लागेका पूर्व माओवादीका बादल, लेखराज, टोपवहादुर, मणि थापा र प्रभु शाहबीच छलफल भएरै आफ्नो टिममा प्रचण्ड पक्षका मान्छे तान्ने प्रयास भइरहेको छ ।

 

प्रभु शाह ओली पक्षमा लागेपछि प्रदेश २ का केही साबिक केन्द्रीय कमिटीका सदस्य र प्रदेशसभा सदस्यहरु ओली नेकपामा लागेका छन् ।

 

ओली नेतृत्वको नेकपामा पूर्व एमालेको बर्चश्व छ ।

 

बादललगायतका नेताले पूर्व माओवादीबाट महाधिवेशन समितिमा थपिने लिस्ट तयार भएपछि थपघट गरेर कमिटीलाई पूर्णता दिइने नेकपा स्रोतले जनाएको छ ।

 

बादल पक्षलाई यति भनेर संख्या नतोकिएको तर पूर्व माओवादीका नेता कार्यकर्तालाई समेटेर लैजाने नीति लिइएको स्रोतको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा