नेपाल कम्युनिष्ट पार्टी अनौपचारिक रुपमा विभाजन भएपछि केही ठाँउहरु नेताहरुको लालकिल्लाका रुपमा स्थापित हुन् थालेका छन् । विगतमा चुनावमा नेकपाको गढका रुपमा मानिएको तेह्रथुममा पनि यसको गम्भीर असर परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम प्रचण्ड–नेपालको पकड क्षेत्र बनेको छ । सोही जिल्लाका अधिकांश नेता कार्यकर्ता प्रचण्ड–नेपाल पक्षमा गएका छन् ।
सो क्षेत्रमा ओलीको पक्षमा समर्थकहरुको संख्या घट्न थालेको छ । पूर्वी नेपालको वाम आन्दोलनमा तेह्रथुमको योगदान ०२८ सालको झापा विद्रोहदेखि माओवादीले गरेको १० वर्षे जनयुद्धसम्म उत्तिकै थियो । जिल्लाको समग्र नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्मको विश्लेषण गर्दा प्रचण्ड–नेपाल पक्षमा ८० र ओली पक्षमा २० को अवस्था देखिन आउने प्रचण्ड–नेपाल पक्षका एक केन्द्रीय नेताले दावी गरे ।
तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद भवानी खापुङ्ग प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । उनी आफ्नो पक्ष बलियो बनाउन आफ्नो क्षेत्रका मतदातासँगको भेटघाट सँगै जिल्लाभर दौडधुपमा छन् ।
केन्द्रीय सदस्य तथा जिल्ला ईन्जार्ज जयन्ती राई, केन्द्रीय सदस्य तथा जिल्ला सह–ईन्चार्ज दुर्गा चापागाईंं प्रचण्ड–नेपाल पक्षका जिल्लाकै खम्बाका रुपमा स्थापित छन् । जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लक्ष्मण तिवारीसहित जननिर्वाचित प्रतिनिधिहरु प्रायः प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।
प्रतिनिधिसभाका सामानुपातिक सांसद विजय सुब्बा भने पक्षतिर ढल्किएका छन् । जिल्ला समन्वय समिति संयोजक शिव ढुंगाना, जिल्ला सचिव ईन्द्र ईमसङ्ग, पुर्व सांसद फुर्बी शेर्पासहितका नेताहरु अहिले तेह्रथुममै रहेर प्रचण्ड–नेपाल पक्ष बलियो बनाउनमा सक्रिय छन् ।
प्रदेशका २ सांसद भने एक–एक जना दुवैतिर बाँडिएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकाबीच पार्टी एकता हुँदा १ सय ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो । जसमा एमालेका ८२ र माओवादीका ५३ नेता थिए । अहिले पुर्व माओवादी खेमा एक ढिक्का नै छ । पुर्व एमाले पृष्ठभूमिका रहेका केही नेताहरु ओली पक्षमा खुलेका छन् ।
प्रतिनिधिसभाका सांसद खापुङ्गका अनुसार पुर्व एमालेमध्यबाट पनि झण्डै २० प्रतिशत मात्रै नेताहरु ओली पक्षमा लागेका छन् । केही नेताहरु निर्वाचन आयोगको निर्णय र सर्बोच्चको फैसला कुरेर बसिरहेको उनले बताए ।
जिल्लाका ६ पालिका मध्य ५ ओटामा नेकपा विजयी भएको छ । जसमध्ये अहिले एक जना ओली पक्षमा खुलेका छन् भने ४ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । ७ सदस्यीय जिल्ला पार्टी सचिवालय सदस्यमा ६ जना प्रचण्ड–नेपाल पक्ष १ जना ओली पक्षमा लागेका छन् ।
कम्युनिष्ट आन्दोलनका आरके मैनाली, सिपी मैनाली , नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली जन्मिएको ठाँउ समेत रहेको तेह्रथुम प्रचण्ड–नेपालको लालकिल्ला बन्न लागेको छ ।