शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्टेम शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार स्टेम २०२० नेपाल, सम्मेलनको समापन कार्यक्रममा उनले केन्द्र, प्रदेश र पालिका तहले स्टेम शिक्षाबारे सचेतना फैलाउनुपर्नेमा जाेड दिए ।
स्टेम फाउन्डेसन नेपाल, कारखाना र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त रूपमा ‘स्टेम २०२० नेपाल’ पहिलो राष्ट्रिय सम्मेलन गरिएको हो । आठौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर यो सम्मेलन आयोजना गरिएको स्टेम फाउन्डेसन नेपालका अध्यक्ष सर्जन बिसीले जानकारी दिए ।
एक हजारभन्दा बढी सहभागी सम्मेलनमा स्टेम विधाका विदेशी तथा स्वदेशी विज्ञहरूको प्रस्तुति, प्यानल डस्कसनका हुनुका साथै शिक्षक, विद्यार्थी र अभिभावकका लागि सेसनहरू राखिएको थियो, जसमा टफ्ट युनिभर्सिटी यूएसएका स्टिम निर्देशक एन्ड्रु इज्साक र लेट्स टक साइन्स क्यानडाका निर्देशक बोनी स्मिदले स्टिम एजुकेसनको चर्चा गरेका थिए ।
नेपाली वैज्ञानिक महावीर पुन, काठमाडौं विश्वविद्यायलयका स्टिम प्रमुख प्रा.डा. बालचन्द्र लुइँटेल, मन्त्रालयका प्रवक्ता दीपक शर्मा, नास्टका प्रवक्ता डा. रविन्द्र ढकाल, एन प्याब्सनका अध्यक्ष ऋतु सापकोटा, प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गाना प्यानल डिस्कसनमा सहभागी भएका थिए ।
स्टेम फाउन्डेसन नेपालले स्टेम एजुकेसन, रोबोटिक्स, अटोमेसन एवं ओलम्पियाड्समा पनि काम गर्दै आएको छ । फाउन्डेसनले देशभरका ७७ वटै जिल्लाबाट १० हजार बढी विद्यार्थीलाई ओलम्पियाड प्रतिस्पर्धामा सहभागी गराइसकेको छ ।
कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले स्टेम एजुकेसनप्रति मन्त्रालय उत्साहित हुनु सकारात्मक पक्ष भएकाे बताए । कारखानाले नेपालमा मात्र १ सय ५० विद्यालयमा ८ हजार बढी विद्यार्थीलाई सिकाउँदै आएको छ भने भारत, बंगलादेशमा पनि कक्षा सञ्चालन गर्दै आएको छ ।