शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

‘बाघलाई गीता सुनाएर बाख्रा खान छाड्दैन’


  • बिहिबार, भाद्र ४ २०७७
20.6K
SHARES

२०७६ सालको एसईई परीक्षाको नतिजा भर्खरै सार्बजनिक गरिएको छ । २०७६ सालको चैत्र ६ गते देखि सञ्चालन गर्ने भनिएको नियमित एसईई परीक्षा कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । स्थगित गरिएको एसईई परीक्षा कोरोना कहर नियन्त्रण भएपछि सञ्चालन गर्ने सरकारी मनसुवा कोरोनाकै कारण पुरा हुनसकेन । कोरोना दिनप्रतिदिन बड्दै र फैलदै गयो । २०७६ सालको चैत्र ५ गते एसईई परीक्षा स्थगित गर्ने सरकारी सूचना प्रसारण हुँदा मुलुकभर ५ देखि ७ जना कोरोना बिरामी थिए भने अहिले २०७७ भाद्र महिना सम्म आईपुग्दा लगभग ३० हजारको हाराहारीमा कोरोना बिरामी छन् ।

यस बर्ष एसईई परीक्षा दिनका लागि मुलुकभरका विद्यालयहरुबाट ४ लाख ८२ हजार ९ सय ८६ जना विद्यार्थीहरुले परीक्षा आवेदन फारम भरेका थिए । तर अहिले एसईईको परीक्षाको नतिजा प्रकाशित हुँदा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीहरुको मात्र नतिजा बाहिरिएको छ । करिब १० हजार जना विद्यार्थीहरु यस पटकको एसईई परीक्षा बाट बाहिरिएका छन् । यो संख्या पक्कै पनि कम भने होईन । कोरोनाको कहर नहुँदो हो त सायद यो संख्या केही कम नै हुने थियो । एसईईका लागि बाह्र बर्ष सम्म कुरेर परीक्षाको आबेदन फाराम भरेर १० हजार विद्यार्थीहरु सो परीक्षामा सामेल नहुनु भनेको निकै दुःखदायी अवस्था हो । हालसालै सेभ द चिल्ड्रेनले गरेको एक अध्ययन अनुसार विश्वभर ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा नफर्कने प्रक्षेपण गरेको छ । यो कहालि लाग्दो तथ्याङ्ककै एक अंश हाम्रो एसईई परीक्षामा सामेल नहुने करिब १० जहार विद्यार्थीहरु समेत जोडिएको त हैन ? भनि शंका नगर्नु पर्ने कारण भेटिदैन । किनकि यो महामारीको चमेटामा हाम्रा विद्यार्थीहरु पनि परेका छन् ।

देशभरका १६ हजार भन्दा बढी विद्यालयहरु मार्फत एसईईका लागि सम्मिलित ४ लाख ७२ हजार ७८ जना विद्यार्थीहरुले प्रप्त गरेको नतिजालाई लिएर अहिले शैक्षिक क्षेत्रमा बहसको बिषय बनेको छ । समग्र नतिजामा भन्दा पनि ४ जिपिए ल्याउने विद्यार्थी संख्या बढि भयो भनि कोकोहोलो मच्चाईएको छ । विद्यालय संञ्चालकहरुको संस्था, अभिभावक संघसंस्था, शिक्षक युनियन आदि र शैक्षिक क्षेत्रमा सरोकार राख्नेहरु लगायत केही शिक्षाविद्हरुले समेत धेरै पहिले देखि नै हाम्रो परीक्षा प्रणालीमा सुधारका लागि आवाज उठाउदै आएकोे तर्फ पनि यस बर्षको एसईई परीक्षाको नतिजालाई लिएर बहस अघि बढाउन सायद बाध्य बनाएको छ । बर्ष भरी पढेका विद्यार्थीहरुले निश्चित मापदण्डका आधारमा सोधिएका प्रश्नहरुको उत्तर तिन घण्टामा सम्झेर लेख्नु पर्ने र लेखिएको विषयलाई आधार मानेर अंङ्क प्रदान गरी नतिजा प्रकाशन गर्ने परम्परागत शैलि नै बेठिक थियो कि ? यस तर्फ सम्बद्ध सबै पक्षको अब ध्यान जान गरुरी छ । हामीले अवलम्बन गरेको मूल्याङ्कनको पद्धति अब्यवहारिक भएको भनि बर्षौ देखि गरिएको चर्चालाई यस बर्षको एसईई परीक्षाको नतिजासंग जोडेर नयाँ बहसको थालनि गर्न जरुरी छ । फरक परिबेश, व्यवहार र वातावरणका बिच तिन घण्टामा स्मरणशक्तिको बलमा लिइने गरिएको परीक्षाको नतिजा ठिक कि ? बर्षभरी शिक्षकले विद्यार्थीहरुलाई आफ्नो निगरानीमा राखि गरिएको समग्र पक्षको मूल्याङ्कन सहितको नतिजा ठिक ? अब यो पक्कै पनि बहसको बिषय भएको छ । शैक्षिक सरोकारवालाहरु र शिक्षाविद्हरु समेतले विद्यार्थीहरुको सर्वाङ्गिण बिकासको पक्षमा वकालत गर्र्दै आएको बर्षौ भएको छ । के सर्वाङ्गिण बिकासमा शिक्षक र विद्यालयको भूमिका हुँदैन ? विद्यार्थीले विद्यालयमा बर्ष भरि गर्ने गतिविधि, उसले देखाउने क्षमता, सिर्जनशिलता, नियमित हाजिरी, विद्यार्थी–विद्यार्थी बिचको सम्बन्ध, शिक्षक–विद्यार्थी बिचको सम्बन्ध, विद्यालय–शिक्षक तथा विद्यार्थीहरु बिचको सामाजिक सम्बन्ध आदि समेतलाई शिक्षकले नजिकबाट मूल्याङ्कन गरिरहेको यथार्थतालाई उसको नतिजाको मूल्याङ्कनको विषय बस्तु बनाउँदा आउने फरक नतिजाको परिणती नै अहिलेको एसईईको नतिजा हो भनि बुझ्न कञ्जुस्याई गर्न हुँदैन । यस बर्षको एसईई नतिजा विद्यार्थीहरुको सर्वाङ्गिण बिकासको यथार्थ मूल्याङ्कन हो भन्न किन अपच भएको छ ।
एस.एल.सी. परीक्षालाई एसईई बनाईए पछि लिईएको २०७२ सालको पहिलो पटकको परीक्षामा जम्मा २ जना विद्यार्थीहरुले ४ जिपिए प्राप्त गरेका थिए । यो यथार्थ हो । तर तिन घण्टे परीक्षा पद्धतिकै कारण यो वर्ष सहभागि भएका थुप्रै बिद्यार्थीहरुले ४ जिपिए ल्याउन बाट बञ्चित भएका पनि त हुनसक्छन् ? लगातार २०७३ मा ४, २०७४ मा ७४, २०७५ मा १०६ जना विद्यार्थीहरुले जिपिए ४ ल्याएका थिए । के यो सर्बोकृष्ट नतिजा थियो ? यो नतिजालाई आधार मान्दा समग्र परीक्षार्थीहरुको सर्बाङ्गिण विकास भएको मान्न सकिएको हो ? अर्थात भने यी बर्षहरुमा गरिएको परीक्षाको मूल्याङ्कन पद्धति बेठिक थियो ? सधैं विद्यार्थीहरुले उच्च अंक ल्याउन नसक्ने परिपाटी वा परीक्षा पद्धति उत्कृष्ठ हो कि ? या सरकारी शिक्षा अधिकारीहरुका लागि “बाघलाई गीता सुनाएर बाख्रा खान छाड्दैन” भन्ने नेपाली उखान लागु हुने हो ? हामी नकारात्मक सोचका धनी छौं । विद्यार्थीले उच्च अङ्क प्राप्त गर्दा वा औषद् परिणाम भन्दा सुधारोन्मुख परिणाम ल्याउँदा मुलुकको शिक्षा प्रशासनले सन्तोष मान्नु पर्ने हो ! नकि अन्य सरोकारवालाहरु तर्फ फर्केर दोष लगाउने ? बुझ्न सकिएको छैन् ।

यहाँ यसो भनि रहँदा केही विद्यालय र शिक्षकहरुको कमजोरी भएको छैन भनि भन्न सकिँदैन । तर, केही विद्यालय र शिक्षकहरुले गरेको कजोरीलाई सम्बद्ध पक्षले सच्याउँदै अघि वढने ल्याकत र हैसियत नबनाउने हो भने माथिको नेपाली उखान ट्याक्कै लागु हुन्छ शिक्षा नीति निर्माताहरुका लागि । विषम परिस्थितिका कारण यस बर्ष अर्थात २०७६ सालको तोकिएको परीक्षा तालिका २४ घण्टा भन्दा पनि कम समयमा स्थगित गरिएको थियो । यसबाट विद्यार्थीहरुले भोग्नु परेको तनाब, विद्यार्थीहरुले परीक्षा सञ्चालन हुने वा नहुने भनि कुर्नु परेको ३ महिना भन्दा बढी समय सम्मको मानसिक पिडा, अभिभावक, शिक्षक तथा विद्यालयले भोग्नु परेको अनिश्चयको समय, शिक्षा मन्त्रालयको किंकर्तब्यबिमुढको अवस्थाको बिचमा यस बर्ष शिक्षक र विद्यालयले गरेको विद्यार्थीहरुको समग्र पक्षको मूल्याङ्कको नतिजा हो ९,३१९ जना विद्यार्थीहरुको ४ जिपिए । बिगत भन्दा संख्याका आधारमा ४ जिपिए ल्याएका विद्यार्थीहरुको संख्या उच्च देखिएता पनि यस बर्ष परीक्षा दिएका ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको १ दशमलब ९७ प्रतिशत मात्र हो ४ जिपिए ! बिगत बर्षहरुको भन्दा यस बर्ष सम्पूर्ण परीक्षार्थीहरुले प्राप्त गरेको उच्च जिपिए शिक्षक र विद्यालयले गरेको विद्यार्थीहरुको बार्षिक समग्र मूल्याङ्कनको परिणाम हो । चुनौती आगामी बर्षहरुका लागि भित्रिएको छ । यस बर्ष आन्तरिक मूल्याङ्कनका आधारमा प्रकाशन गरिएको नतिजा आगामि बर्षहरुमा पनि आन्तरिक विधी र प्रकृयालाई ब्यवस्थित बनाई परीक्षा प्रणालिलाई विश्वसनिय र यथार्थपरक बनाइएको अवस्थामा पनि यस बर्षको नतिजालाई कायम राख्दै थप उन्नत नतिजा प्राप्त गर्ने तर्फ शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनको ध्यान जान जरुरी छ । यो बर्षको नतिजा उनीहरुका लागि साच्चैनै चुनौतिको रुपमा खडा भएको छ । यसलाई स्वीकार्न सबै पक्षले हिम्मत गर्नुपर्ने हुन्छ ।

पारसमणि दाहाल
उप महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
Email: [email protected]


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा