काठमाडौँ । प्राज्ञिक व्यक्तित्व शक्ति नेपालको “चेतनकक्ष” उपन्यास कृतिको लोकार्पण सफलतापूर्वक सम्पन्न भएको छ । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान जेष्ठ २ गते एक औपचारिक कार्यक्रममा विच उक्त कृति लोकार्पण गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती , प्रा.डा. जगत् प्रसाद उपाध्याय , प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. ऋषिराम शर्मा लगायतका व्यक्तित्वहरुले उक्त आख्यान कृतिको विमोचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले पुस्तकको स्वर्णिम सफलताको शुभकामना व्यक्त गर्दै उपन्यासले समेटेको विषयवस्तुले नयाँ समयचेतनाको वैचारिकी प्रस्तुत गर्न सक्षम रहेको बताए ।

कृतीको समीक्षा गर्दै प्रा.डा. हेमनाथ पौडेलले चेतनकक्ष उपन्यास सामाजिक– सांस्कृतिक समन्वय र आत्मिक चेतनाको वैचारिक आख्यान भएको प्रष्ट पारे। “यस कृतिले मानिसको आत्मचेतना, सामाजिक यथार्थवाद र सांस्कृतिक समन्वयवादलाई फरक ढङ्गले प्रस्तुत गरेको छ”, उनले भने। भाषाशैली र औपन्यासिक कलाका दृष्टिले यो उपन्यास सफल र आकर्षक रहेको उनले बताए।
समारोहको अध्यक्षतासमेत ग्रहण गरिरहेका लेखक शक्ति नेपालले मानिसको आत्मिक शुद्धि र आत्मनियन्त्रणका पक्षलाई काल्पनिक र अनुभव मिश्रित भावनात्मक रुपमा उपन्यासमा प्रस्तुत गर्न खोजेको बताए।
चेतनकक्ष उपन्यासलाई कालिञ्चोक पुस्तक प्रकाशनले प्रकाशित गरेको हो।