काठमाडाैं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन। मोदीले सोमबार प्रशान्तकी श्रीमती गीता थापा मगर(मार्था) लाई शोकपत्र पठाउदै उनको निधनले अपूरणीय क्षति भएको बताएका हुन।
पत्रमा लेखिएको छ,‘श्रीमती मार्था आले तामाङजी। श्री प्रशान्त तामाङजीको असमायिक निधनको समाचार पाउँदा मलाई गहिरो दुःख र शोक महसुस भएको छ। यो एउटा अपूरणीय क्षति हो।’
‘प्रशान्त तामाङजीले आफ्नो आत्मीय गायन र उत्कृष्ट अभिनयका कारण मनोरञ्जनको संसारमा आफ्नो छुट्टै स्थान बनाउनुभएको छ। दृढ संकल्प र विशिष्ट प्रतिभाका प्रतीक, उनले देशभर करोडौं जनाको मन छोएका छन्,’ पत्रमा उल्लेख छ।
प्रशान्त तामाङ असंख्य व्यक्तिहरूका लागि प्रेरणाको स्रोत भएको र उनको जीवन यात्रा कैयौँ युवाहरूलाई सपना देख्न अनि त्यसका लागि कठोर परिश्रम गर्न प्रोत्साहित गर्न माध्यम बनेको पनि माेदीले पत्रमार्फत उल्लेख गरेका छन् ।
प्रशान्तलाई श्रद्धान्जलीसँगै मोदीले उनको श्रीमती मार्था, उनको परिवारका सदस्यहरू र उनका असीम प्रशंसकहरूलाई यो ठूलो क्षति सहन शक्ति र धैर्य दिन पनि प्राथना गरेका छन्।
प्रशान्त तामाङको गत आइतबार ४२ वर्षको उमेरमा दिल्लीमा निधन भएको थियो। भारतीय टिभी रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो संस्करणको विजेतासमेत रहेका तामाङको कार्डियाक अरेस्टलका कारण निधन भएको हो । हिजो उनको जन्मथलो दार्जिलिङका विभिन्न स्थानहरुमा शवयात्रा भएको थियो।