दोलखा । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघ तथा दोलखा उद्योग वाणिज्य संघको समन्वयमा दोलखाको कुरी कालिन्चोकमा प्रथम हाई अल्टिच्युड महिला तथा पुरुष खुल्ला फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता सम्पन्न गरिएको छ ।
उक्त प्रतियोगिताबाट पुरुष खुल्लातर्फ शिव बहादुर भुजेल(नेपाली सेना) प्रथम भएका छन् । सुलभ माझी (२नं प्रदेश) द्वितीय, अभय राउत (नेपाली सेना) र रविन्द्र लुहार (नेपाली सेना) तृतीय भएका छन् ।

यस्तै महिला खुल्लातर्फ सपना ऐडी (नेपाली सेना) पहिलो भएकी छिन् । सुस्मा तामाङ (३नं प्रदेश) द्वितीय, उषा रावल (नेपाली सेना) र मनिता राई(नेपाली सेना) तृतीय भएकी छिन् भने कृष्टी खड्का (३नं प्रदेश) उत्कृष्ट खेलाडीको उपाधि जितेकी छिन् ।

प्रतियोगितामा शिहान अशोक कुमार श्रेष्ठले काँता मध्यको सबभन्दा लामो ५४ स्टेपको शुशिहो काँता प्रदर्शन गर्नुभएको थियो ।
कालिन्चोक गाउँपालिकाको वडा सदस्य मैना तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगिता कालिन्चोकको कुरी, दोलखामा भएको थियो। उक्त प्रतियोगिताको मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य निर्णायकमा बद्री थापा मगर, राजेश महतो तथा सहायक निर्णायकहरूमा राजेन्द्र थापा, छविलाल खडका, विशाल बल, सम्पूर्ण महर्जन रहेका थिए ।
हालसम्म पनि विश्वकै फुलकन्ट्याक्ट कराँते को इतिहासमा ३४००मी.को उचाइमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गरेको यो पहिलो प्रतियोगिता हो भनेर संघका केन्द्रीय अध्यक्ष तथा ब्रान्चचिफ शिहान अशोक कुमार श्रेष्ठले दाबी गर्नु भयो ।