काठमाडौँ । नवरात्रको आज पाचौँ दिन । तिथिको घटबढले आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको हो ।
आज बिहान ६.१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । तसर्थ आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले बताउनुभयो । आइतबार पनि दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको उहाँको भनाइ छ ।
हुनत, घटस्थापनाबाट आज पाँचौँ दिन हो । तर तिथि वृद्धि भएकाले चौथीकै पूजा कर्म आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्ने जनाइएको छ ।
साथै यस वर्ष यता नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने उता नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको पूजा कर्म गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले बताउनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।