बहुप्रतीक्षित आईफोन १६औँ संस्करण सार्वजनिक गरेको छ । सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ सार्वजनिक गरेको हो ।
एप्पलका प्रमुख कार्यकारी टिम कुकले आईफोन १६ ले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिनेछ दाबी गरेका छन् ।
नयाँ आईफोन सेतो, कालो, टिल (गाढा नीलो–हरियो), एक्वामरिन (हरियो–नीलोबाट नीलो हरियो) र गुलाबी स्वरुपमा आएको छ । नयाँ आईफोन ६.१ इन्च (आईफोन १६) र ६.७ इन्च (आईफोन १६ प्लस) दुई आकारमा उपलब्ध भएको छ ।
नयाँ आईफोन १६ ले प्रयोगकर्तालाई केही वस्तुको जानकारी लिन सहजता थपेको छ। अर्थात् ती वस्तुमाथि क्यामेरा सोझ्याउँदा तिनबारे जानकारी मिल्छ। यसमा क्यामेरा नियन्त्रण गर्ने फिचर छ। फोनको किनारामा यसका लागि बटन छ।
यसमा रहेको भिजुअल इन्टेलिजेन्सबाट कुनै कुकुरबो प्रजातिजस्ता सूचना आईफोन १६ ले दिन्छ। एप्पले आफ्नो नयाँ आईफोनमा च्याटजीपीटी बनाउने ओपनएआईसँगको यसअघि घोषित साझेदारीलाई पनि समावेश गरेको छ। जुन यसका केही फिचरमा आएका छन्।
नवीनतम एआई फिचर
नयाँ आईफोनमा नवीनतम एआई फिचरको प्रयोग गरिएको छ। यसलाई कम्पनीले एप्पल बौद्धिकता अर्थात् एप्पल इन्टेलिजेन्स भनेको छ।
इमेल तथा मेसेजको मद्दत गर्न एआईको सहयोग लिन सकिने टुल्स यसमा राखिएका छन्। एप्पलको एआईले सिरिसँगको वार्तालापलाई अझ स्वाभाविक बनाएको छ।
अब सिरिले प्रयोगकर्ताको लिखित मेसेजबाट पनि प्रतिक्रिया दिन्छ अर्थात् आफ्ना साथीले सुझाएका गीत सुन्न र टिभी शोहरु सिरिले सम्झाउने सुविधा दिएको छ। जस्तो कि प्रयोगकर्ताले केही दिनअघिको कुनै पार्टी वा वनभोज कार्यक्रमको फोटो कसैलाई पठाऊ भन्दा सिरिले त्यो सबै खोजेर पठाउन सक्छ।
आफूअनुकूलको एआईचित्रित इमोजी तथा फोटो खोज्ने क्षमतालाई अझ परिष्कृत पारिएको छ।
नयाँ आईफोन १६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ।
त्यस्तै आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुने जनाइएको छ ।