नेपाल सरकार शिक्षा¸विज्ञान तथा प्रविधि मन्त्रालय¸शिक्षा तथा मानव स्रोत विकास केन्द्र र युनिसेफ नेपालको संयुक्त आयोजनामाअभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम लिएका ८९ जना निजी क्षेत्रका राष्ट्रिय प्रशिक्षकहरुको पहिलो एक दिने सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ ।
अभिभावक शिक्षा राष्ट्रिय प्याकेजमा आधारित भएर विगत एक वर्ष भित्र भएका विभिन्न तालिम तथा कक्षाहरुको बारेमा प्रशिक्षकहरुले सिकाइ¸चुनौती र अवसर सहितको आफ्नो आफ्नो अनुभव आदान प्रदान गरेका थिए । प्रारम्भिक बालविकास उमेर (गर्भधारण देखि ८ वर्ष सम्म) समूहका सबै बालबालिकाका अभिभावकहरुसम्म यो कार्यक्रम पुर्याउने लक्ष्य सहित आगामी दिनहरुमा थप प्रभावकारी ढंगले अगाडि बढ्ने र यसका लागि सबै सरोकारवालाहरु बीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरुले धारणा राखेका थिए । अभिभावक शिक्षा राष्ट्रिय प्याकेजमा ३३ वटा महत्वपूर्ण विषयहरु समेटिएका छन् र यो प्याकेजलाई बढी भन्दा बढी सहभागितामूलकढंगले सञ्चालन गर्न सक्ने गरी विकास गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेवसाइट अन्तर्गत ECED Portalर युनिसेफ नेपालको वेवसाइटमा यो प्याकेज उपलब्ध गराइएको छ ।
अभिभावक शिक्षा अहिलेको एकदमै महत्त्वपूर्ण विषय भएकाले हरेक स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखेर बजेट छुट्याउनु पर्ने र नियमित अभिभावक शिक्षा कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने र यसो हुन सके सबै अभिभावकहरुले प्रारम्भिक बालविकास तथा शिक्षाको महत्त्व बुझी सचेत अभिभावक बन्न सक्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रारम्भिक बालविकास शाखाका शाखा अधिकृत धनसुदन चौलागाइले बताउनु भयो । उहाँले यो कार्यक्रम विशुद्ध कल्याणकारी कार्यक्रम भएकाले अभिभावकलाई कुनै पनि आर्थिक भार नपारिकन कक्षाहरु सञ्चालन गर्न सकिने र सो को अभिलेखिकरण राम्रोसँग गर्नु पर्ने सुझाव दिनु भएको थियो । साथै उहाँले कक्षा १ भन्दा तलका कक्षाहरुमा पढाइ लेखाइ भन्दा पनि मनोरञ्जनात्मक पद्धतिबाट सिकाइ गतिविधि हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । त्यसै गरि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, योजना शाखाका निर्देशक अर्जुन ढकालले अभिभावक शिक्षा राष्ट्रिय प्याकेजको प्रचार प्रसार र प्रवर्धनमा सबै सरोकारवालाहरुले जोड दिनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा युनिसेफकी क्षेत्रिय प्रतिनिधि मिता गुप्ताले अभिभावक र अभिभावकत्वको विश्वव्यापी अभ्यास र अवस्थाका बारेमा प्रकाश पार्दै विशेष गरी बालबालिकाको सर्वाङ्गीण विकासमा बुवाको भुमिका प्रमुख हुने र यसलाई नेपालमा अझै धेरै प्रवर्धन गर्नु पर्ने आवश्यता औल्याउनु भएको थियो ।
अभिभावक शिक्षा राष्ट्रिय प्याकेज के होर कसरी निर्माण गरिएको हो भन्ने प्राविधिक पक्षका बारेमा युनिसेफ नेपालका प्रारम्भिक बालविकास विज्ञ डा.दिपु शाक्यले प्रस्तुती गर्नु भएको थियो । यसै गरि नेपालका लागि युनिसेफका उप-प्रतिनिधि जि ह्युन राहले निजी क्षेत्रले स्वःस्फुर्त रुपमा आफ्नो सञ्जाल मार्फत अभिभावक शिक्षा कार्यक्रमलाई फैलाउन गरेको प्रयास सराहनिय भएको र यसको दीर्घकालिन प्रभावका कारण बालबालिकाको राम्रो स्वास्थ्य¸ उत्प्रेरणा र सिकाइ¸पोषण¸संवेदनशील स्याहार एवम् सुरक्षा र संरक्षणमा उल्लेखनीय टेवा पुग्ने बताउनु भएको थियो ।
देशभरिबाट स्वःस्फुर्त रुपमा सहभागी भएका प्रशिक्षक बाहेक सम्मेलनमा तालिम प्रदायक शैक्षिक संस्थाहरु लावण्य इन्टरनेशनल¸एलकर्भ एजुकेसन एण्ड रिसर्च प्रा.लि.,तथा पद्मकन्या क्याम्पसका प्रतिनिधिहरु लगायत शिक्षा¸विज्ञान तथा प्रविधि मन्त्रालय¸ शिक्षा तथा मानव स्रोत विकास केन्द्र¸ शैक्षिक गुणस्तरपरीक्षण केन्द्र¸पाठ्यक्रम विकास केन्द्र¸ प्लान इन्टरनेसनल नेपाल¸द एसिया फाउण्डेसन¸ एसओस बाल ग्राम¸ युनाइटेड मिसन टु नेपाल¸रातो बंगला फाउण्डेसन¸स्मार्ट प्यारेन्टिंग, एसोसियसन अफप्रिस्कुलएजुकेटर्स नेपाल (अपेन)¸सेतो गुराँस राष्ट्रिय बालविकास सेवा¸युनिसेफ नेपाल¸विभिन्न पालिकाका जनप्रतिनिधि तथा पदाधिकारी एवम् प्रारम्भिक बालविकास विज्ञहरुको बाक्लो उपस्थिति रहेको थियो । यस कार्यक्रमका दौरान सहभागीहरु बीच भएको छलफल र अनुभव आदान प्रदानबाट प्राप्त सिकाइ र भावी कार्यदिशाका बारेमा युनिसेफ नेपालका अनन्त घिमिरेले संक्षेपमा प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमलाई रिसोहनी श्रेष्ठ प्रधानाङ्गले सहजीकरण गर्नु भएको थियो ।