बूढानीलकण्ठ – ८ गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलमा २०८० सालको एसईईमा विभिन्न विद्यालयबाट सहभागी हुने विद्यार्थीहरूका लागि एक दिने अभिमुखीकरण तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । लिडर्स फर एजुकेसन एण्ड डेभलपमेन्ट सोसाइटी, नेपाल (लिड्स) ले हिजो शनिबार सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । एसईईमा सफलता प्राप्त गर्न नियमित तालिका बनाएर अध्ययन गर्न र शिक्षक शिक्षिकाहरुको निर्देशन अनुसार आफ्नो पढाइलाई अगाडि बढाउन उहाँले विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

आयोजक संस्थाका अध्यक्ष एवम् फेरिल्याण्ड स्कुलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले संस्थाको उदेश्यमाथि प्रकाश पार्दै २१ शौं शताब्दीमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तै, उपाध्यक्ष गणेश मिश्रले स्वागत गर्दै विद्यार्थीहरुको चौतर्फी विकासका लागि कार्यक्रम फलदायी हुने कुरा विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बूढानीलकण्ठ क्षेत्रमा रहेका फेरिल्याण्ड इन्टरनेसनल स्कुल, त्रिज्योती स्कुल, नेसनल युनाइटेड स्कुल, जुगल नवगुरुकुल, सेन्ट जेभियर स्कुल, नव ज्ञानभूमि स्कुल, सेन्ट जोसेफ स्कुल, स्कलर्स होम स्कुल, हिमालय इंग्लिस स्कुल, मञ्जरी स्कुल, प्रशान्ति एकेडेमी लगायतका कक्षा १० मा अध्ययनरत एवम् अघिल्लो परिक्षामा उत्कृष्ट सात भित्र पर्न सफल ११० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए । कार्यक्रमको सञ्चालन लिड्स नेपालका सचिव एवम् जुगल नवगुरुकुल स्कुलका प्रिन्सिपल रूपक (जिवी) लामिछानेले गर्नु भएको थियो ।














तस्विरः नेसनल युनाइटेड स्कूल