काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेशचोकमा रहेको नेसनल युनाइटेड स्कुलले तीजको पूर्वसन्ध्यामा गत २३ गते शनिबार एक भब्य कार्यक्रमको आयोजना गरेको छ । नेपाली मौलिक संस्कृति एवम् रीतिरिवाजलाई संरक्षण एवम् सम्बर्धन गर्ने उद्देश्यले तीजको विशेषता, यससँग सम्बन्धित विभिन्न आयामहरू र यसको महत्व उजागर गर्नको लागि विद्यालय प्राङ्गणमा कार्यक्रम गरिएको थियो ।

उक्त ‘ज्येष्ठ महिला सम्मान तथा तीज विशेष कार्यक्रम’ मा समाजका विभिन्न क्षेत्रका ८० वर्ष भन्दा माथि उमेरका १०४ जना ज्येष्ठ महिलाहरूलाई सम्मान गरिएको थियो । आफुले सिकेको सामाजिक संस्कार, ज्ञान तथा आदर्श र मूल्य मान्यताहरू वर्तमान र भावी पुस्तालाई हस्तान्तरण गर्दै समाज विकासमा उँहाहरूले पु–याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको विद्यालयकी प्रिन्सिपल शायरा हमालले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहाल, कार्यक्रमका सभापति एवम् विद्यालयका संस्थापक जेबी हमाल, विशेष अतिथि एवम् शिक्षक अभिभावक संघका अध्यक्ष मनोज प्याकुरेल, प्रिन्सिपल हमालद्वारा ज्येष्ठ महिलाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित हुँदा महिलाहरु खुशी हुनुका साथै विद्यालय परिवारलाई आशिर्वाद दिइरहनु भएको थियो भने केहि ज्येष्ठ महिलाहरु हिड्न असमर्थ हुँदा उहाँहरू सवार सवारी साधनमा नै गएर समेत सम्मान गरिएको क्षण निकै नै भावनात्मक रहेको थियो ।

उक्त अवसरमा यस स्कुलबाट २०७६ सालमा औषत ग्रेड अंक ३.९५ सहित एसईइ उत्तीर्ण अत्यन्त अनुशासित एवम् जेहेन्दार छात्रा गरिमा केसीले छिमेकी मुलुक चीनको प्रतिष्ठित कुन्मिंग मेडिकल युनिभर्सिटीमा चिकित्सा शिक्षा स्नातक तह अध्ययनको लागि पूर्ण छात्रवृ प्राप्त गर्न सफल भएकोमा निजलाई समेत सम्मान गरिएको थियो । उनले यस स्कुलबाट सिकेका कुराहरूलाई आफ्नो अनुभवको रुपमा प्रस्तुत गर्दै स्कुलले सिकाउने अनुशासन र मेहेनतलाई अंगिकार गर्न सके सफलता प्राप्त गर्न सहज हुने बताईन ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू, स्थानीय महिला समुहहरू लगाएतले तीजका मौलिक नेपाली गीतहरूमा नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए । सम्मानित आमाहरूसंगै तीजको दर खाने कार्यक्रममा भाग लिन पाउँदा स्कुलका छात्राहरू औधी रमाएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयका संस्थापक हमालले आमाहरुलाई सम्मान गर्न पाउनु आफ्नो जिवनको सबैभन्दा महत्वपुर्ण क्षण भएको बताउनुका साथै उहाँहरुको दीर्घजीवन, सुख र शान्तिको समेत कामना गर्नुभयो ।





तस्विरः नेसनल युनाइटेड स्कूल