काठमाडौँ, आषाढ १८ गते ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८ मा रहेको नेसनल युनाइटेड स्कुलमा ‘स्व. प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगिता २०८०’ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो आइतबार उद्घाटन गर्नु भयो ।

खेलप्रेमीहरूको अत्यन्त बाक्लो उपस्थितिमा आयोजित बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकुद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरूले देख्नुभएकै छ । यसपटक मैले कला, साहित्य र खेलकुदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । खेलकुदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयामिक महत्व छ। सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रवर्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ ।’

‘प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु’ प्रधानमन्त्रीले भन्नुभयो, ‘बक्सिङ खेललाई राम्रोसँग स्थापित गर्न तपाईहरूले जुन भूमिका खेल्नुभएको छ, त्यो महत्वपूर्ण छ। यसमा सरकारको साथ र सहयोग रहन्छ ।’

प्रतियोगिता नेपाल बक्सिङ्ग संघको तत्वावधान तथा अखिल नेपाल खेलकुद संघ र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको हो । उद्घाटन कार्यक्रममा भारतमा भएको तेस्रो इमास एसियन कराते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल बिन्दन थापा मगर, बक्सिंग खेलको बिकाशमा अतुलनीय योगदान पुर्याउनु भएका व्यक्तित्वहरू नेसनल युनाइटेड स्कुलका संस्थापक श्री जंग बहादुर हमाल, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख श्री मीठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष श्री राजेन्द्र श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलाडीहरूले रिङ्गमा प्रतिस्पर्धा गर्दा अन्य खेलाडीहरूले रिङ्गको सिप, ज्ञान तथा अनुभव बटुलेर उच्च मनोबल सहित अन्तराष्ट्रिय जगतमा खेलेर पदक जित्न सफल हुने हुँदा यो खेलको आयोजना गरिएको बताउंदै कार्यक्रमका सभाध्यक्ष एवम् अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुन बहादुर केसीले खेलकुदको माध्यमबाट समेत बूढानीलकण्ठ नगरपालिकाको चिनारी दिलाउनको लागि प्रतियोगिता आयोजाना गरिएको समेत बताउनु भयो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ ९ गरि २२ वटा तौल समुहमा संचालन गरिने स्पर्धा प्रतियोगिता चार दिनसम्म चल्नेछ ।








तस्विरः नेसनल युनाइटेड स्कूल