काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूललमा खुल्ला कराँते प्रतियोगिता सुरु भएको छ । कराते प्रतियोगिताको यस श्रृंखला अन्तर्गत नेपाल तथा भारतका विभिन्न डोजो तथा विद्यालयका गरि २५० भन्दा बढी खेलाडीहरुले विभिन्न तौल समुहमा २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्दै छन् ।

जेष्ठ १९ र २० गते दुई दिन संचालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा नेसनल युनाइटेड स्कुलकी प्रिन्सिपल शायरा हमालको सभापतित्व रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका वडा न. ८ का अध्यक्ष एवं बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक श्री सुमन तामांगले उद्घाटन गर्नुभएको थियो ।

नेपाल गोजुकाई कराते डो संघका महासचिव इन्द्र बहादुर शाही खड्गेको संयोजकत्वमा संचालित प्रतियोगिताको उद्घाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोष्टर शहरमा सम्पन्न भएको ‘उमा युरोपियन च्याम्पियनसिप २०२३’ मा सहभागी भइ ६० के.जी. सेमिकन्ट्याक्ट किक बक्सिंगमा कास्य पदक बिजेता बिमल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिंगमा कास्य पदक बिजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न विभिन्न चरणका स्पर्धाहरुमा उत्कृष्ट प्रदर्शन सहित जित हात पार्दै गल्र्स काता तर्फ नेसनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्णपदक जित्न सफल हुँदा ३० के।जी। ब्वाइज तर्फ दि चांदबाग स्कुलका आरोग्य पौडेलले स्वर्णपदक जिते भने अन्य स्पर्धाका बाँकी खेलाहरु २० गते शनिबार सुचारु रहने छन् ।

कार्यक्रममा नेपाल गोजु काई कराते महासंघका उपाध्यक्ष एवम् नेसनल युनाइटेड स्कुलका संस्थापक श्री जेबी हमालले नेपालका विभिन्न भू–भाग तथा मित्रराष्ट्र भारतबाट आउनुभएका खेल पदाधिकारीहरु साथै खेलाडीहरुको स्वागतार्थ मन्तव्य राख्दै यस्ता अन्तराष्ट्रियस्तरका प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु उत्पादन गरी राष्ट्रको शिर उँचो राख्न नेसनल युनाइटेड स्कुल सदा तत्पर रहेको जानकारी गराउनुभयो ।

विविध सांस्कृतिक कार्यक्रम सहित उद्घाटित प्रतियोगितामा प्रमुख अतिथि तामांगले नेसनल युनाइटेड स्कुलले शिक्षा तथा खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका भू।पु। उपनिर्देशक श्री हिरा सिंह डंगोल, कलकत्ता कराते क्लब गोजु काई कराते डो वेष्ट बंगालका प्रमुख प्रशिक्षक श्री ललित कुमार साव, पुना महाराष्ट्र सितोरियो करातेका अध्यक्ष तथा प्रमुख प्रशिक्षक श्री अशोक कदम लगाएतको आतिथ्यता रहेको थियो ।
पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सहित २० गते शनिबार दिनको २ बजे प्रतियोगिताको समापन गरिने आयोजकले जनाएको छ ।






तस्विरः नेसनल युनाइटेड स्कूल