काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेशचोकमा रहेको नेसनल युनाइटेड स्कूलले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कूलले मंगलबार र बुधबार दुई चरण गरेर अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको हो ।

यस वर्षको शैक्षिक सत्रमा नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयको सभाहलको क्षमता र अभिभावकहरुको चापलाई मध्यनजर गरि दुई चारणमा गरिएको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहनुका साथै शिक्षकहरु समेत सहभागि भएका थिए ।

यस शैक्षिक सत्रमा उल्लेख्य मात्रामा विद्यार्थीहरू भर्ना भएको तथा विगतमा कोभिडले विद्यार्थी संख्यामा पारेको नकरात्मक असरलाई पूर्ण रूपमा न्यूनीकरण गर्न सफल भएको विद्यालयले जनाएको छ ।
विद्यालयकी प्रिन्सिपल शायरा हमालले विद्यालय व्यवस्थापन समितिको नीति, कार्यदिशा तथा निर्देशन, अभिभावकहरूको विश्वास, विद्यार्थीहरूको सन्तुष्टि, शिक्षक तथा कर्मचारीहरूको लगनशिलता र शुभचिन्तकहरूको साथ रहनु नै विद्यालयको सफलता भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयमा प्रयोग हुने विविध शैक्षिक कागजातहरु, विद्यालयमा विद्यार्थीहरुले गर्न हुने र गर्न नहुने कुराहरु, विद्यालय समय, विद्यालयको पोशाक, परीक्षा प्रणाली, अतिरिक्त क्रियाकलापहरु, उपलब्ध अन्य सुविधाहरु लगाएतका विषयमा इन्चार्जहरु रेनुका कुमाई र सरोजराज उपाध्यायले क्रमशः पहिलो र दोस्रो चरणमा अभिभावकहरुलाई अभिमुखीकरण गराएका थिए भने विद्यालयका संस्थापक जेबी हमालले अभिभावकहरुलाई धन्यवाद ज्ञापनसहित विद्यालयको विगत, वर्तमान र भविष्यका योजनाहरुको बारेमा विशेष प्रस्तुतीकरणका साथ अभिभावकहरुलाई अभिमुखीकरण गराउनुभयो ।

आफ्ना बाबुनानिहरुको सर्वाङ्गीण विकासमा विद्यालयले लिएको अग्रसरता र अभिमुखीकरण कार्यक्रममा प्राप्त महत्वपूर्ण जानकारीका कारण अभिभावकहरु अत्यन्तै खुशी देखिन्थे ।


तस्विरः नेसनल युनाइटेड स्कूल