काठमाडौँ । मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक विदा गरिएको छ । यो समाचार हो काठमाडौँको चन्द्रागिरी नगरपालिकाको ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहिबार सार्वजनिक बिदा दिने भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै भोलि चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन् । मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी)का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।

मातातीर्थ औँसीको दिनमा उक्त क्षेत्रमा आज साँझदेखि बत्ती बाल्ने तथा भोलि कुण्डमा स्नान गर्ने कार्यक्रम रहेको छ ।
आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व । आज जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरि मनाइँदैछ ।
वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद लिने चलन रहेको छ ।
आमा नभएकाहरु भने आमाको श्राद्ध गरी दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्ने गर्दछन् ।
यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ ।
कसरी शुरु भयो यो पर्व ?
धेरै वर्ष पहिले एक ठाउँमा गाईवस्तु चराउने चौर थियो ।
एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो ।
अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।
कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन ।
सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो ।
यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।
त्यसैले विभिन्न धर्मशास्त्रमा आमालाई पहिला सम्झिइएको छ । ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’
आमाको महत्वलाई जनाउने संस्कृतको एउटा श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ निकै नै प्रचलित रहेको छ ।