काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले आफ्ना स–साना विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्कूलको नवनिर्मित अत्याधुनिक हलमा विशेष कार्यक्रमको आयोजना गदै साना विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।

यहि चैत १२ गते, आइतबार शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल भएका कक्षा १ र २ का विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।
शैक्षिक सत्र २०७९ मा संचालन भएका चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, मेमोरी गेम, क्याटरपिलर रेस, फ्रग जम्प, रिडिंग स्किल, म्याथम्याटिक्स ओलम्पियाड, ग्लास पिरामिड रेस लगाएतका विभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमाल, गणेश बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम् वि.स. २०६६ सालदेखि नेसनल युनाइटेड स्कुलमा गेष्ट लेक्चररको रुपमा कार्यरत रमेश राज दाहाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गर्नुभएको थियो ।

एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुने विद्यार्थीहरु मध्ये कक्षा १ का छात्र विप्लब आचार्य आफुले सहभागिता जनाएको २ ओटै विधामा प्रथम स्थान सहित पुरस्कृत हुँदा कक्षा २ का छात्राहरु आशिका श्रेष्ठ ३ तथा सुवास्ना रोक्का ४ वटा विधामा पुरस्कृत भए । आफ्नै अभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा विद्यार्थीहरु अत्यन्तै खुसी तथा उत्साहित देखिन्थे ।

पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित अभिभावकहरुको सक्रिय सहभागिताबाट मात्रै आशातित शैक्षिक उपलब्धि हासिल गर्न सकिने कुरा बताउनु भयो । साथै सहायक क्याम्पस प्रमुख रमेश राज दाहालले नेसनल युनाइटेड स्कुलले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा पु–याएको योगदानको प्रशंसा गर्नुभयो ।





तस्विरः नेसनल युनाइटेड स्कूल