एजेन्सी । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी गोलले विश्व फुटबल तातेको छ । गए राति भएको खेलमा पाँच गोल गरेसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि हालान्डको किर्तीमानी गोलसहित ७–० को भारी अन्तरले सिटीले जित निकाल्न सफल भयो । समग्रमा ८–१ को फराकिलो जितसँगै सिटीले अन्तिम आठमा स्थान पक्का बनाएको छ ।
पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएपनि सिटीले दोस्रो लेगमा भने ७–० को एकपक्षीय जित निकाल्न सफल भयो ।
घरेलु मैदानमा सिटीको एकपक्षीय जितमा हालान्डले एक्लैले ह्याट्रिकसहित ५ गोल गर्न सफल भए । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले पनि समान एक गोल गरे ।
मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औं मिनेटमा हालान्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि दुई मिनेटपछि नै हालान्डले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि बढ्यो ।
यस्तै, खेलको ४९औं मिनेटमा इल्केए गुन्डोगानले गोल गरे । ५३औं मिनेटमा हालान्डले म्यानुएल एकान्जीको पासमा व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे ।
५७औं मिनेटमा हालान्डले एकान्जीकै पासमा व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केभिन डि ब्रुएनाले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई ७–० गोलको जित निकाले ।
हालान्डले लाइप्जिगविरुद्ध पाँच गोल गरेसँगै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने कान्छा खेलाडी बनेका छन् ।