एजेन्सी । विश्व चर्चित इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको हिजो खेलमा म्यानचेस्टर सिटीलाई नसोचेको झड्का लागेको छ । सिटीका फरवार्ड हलाण्डमाथि सबैको ध्यान केन्द्रित भएको थियो । तर, उनले कमाल देखाउन नसक्दा सिटीले नमज्जाको हार ब्यहोरेको छ । यसको फाइदा सिधै शिर्ष तालिकामा रहेको आर्सनललाई पुगेको छ ।
टोटेनहम हटस्परका फरवार्ड ह्यारी केनको निर्णायक गोलबाट इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित हुन पुगेको हो ।
टोटेनहमले पाहुना टोली सिटीमाथि १–० को जित निकालेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको १५औं मिनेटमा केनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । पिएर इमिल होज्वजर्गको पासमा गोल गरेका थिए ।
एक गोलले पछि परेको सिटीले त्यसपछि घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि टोलीको रक्षापङ्ति तोड्न सकेन । जसबाट टोटेनहमले भने आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
यो जितसँगै पाँचौं स्थानमा रहेको टोटेनहमको २२ खेलबाट ३९ अंक पुगेको छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ ।
पराजित सिटीको २२ खेलबाट ४५ अंक रहेको छ । एक खेल कम खेलेको आर्सनको ५० अंक छ । आर्सनल अझै ५ अंकले अघि छ ।
यस्तै, प्रिमियर लिगकै अर्काे खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
जुन जितसँगै नटिङहम २० खेलबाट २४ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित लिड्स १८ अंक जोडेर १७औं स्थानमा छ ।