काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व. प्रेमप्रसाद आचार्यका छोराछोरीका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले गरेको उक्त सहयोगको चौतफी प्रंशसा भएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेता बस्नेतले आज स्व आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताए ।
भेटमा पूर्वमन्त्री बस्नेतले स्व आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए ।
‘आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ’, पूर्वमन्त्री बस्नेतले बताए ।
आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान मृत्यु भएको थियो ।