एजेन्सी । विश्व चर्चित इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनल झनै कडा बनेर निस्किएको छ । गए राति भएको खेलमा कमालको जित निकाल्दै शिर्ष स्थान कायम गर्दै अंक दुरी बढाएको छ ।
शिर्ष स्थानमा रहेको आर्सनलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर म्यानचेस्टर युनाइटेडमाथि जित निकालेको छ । युनाइटेडमाथि आर्सनलले ३–२ गोलको रोमाञ्चक जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली आर्सनलको जितमा इडवार्ड एनकेटिहले दुई तथा बुकायो साकाले एक गोल गरे । युनाइटेडका मार्कस रासफर्ड र लिसान्द्रो मार्टिनेजले गोल फर्काए ।
कडा प्रतिस्पर्धा बनेको खेलको १७औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
यस्तै, खेलको २४औं मिनेटमा इडवार्ड एनकेटिहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । ५३औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।
५९औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाइटेडलाई २–२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एनकेटिहले गोल गर्दै आर्सनललाई ३–२ को रोमाञ्चक जित दिलाउन सफल भए ।
यो जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १९ खेलमा ५० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४५ अंक छ । पराजित युनाइटेड २० खेलमा ३९ अंक जोडेर चौथो स्थानमा झरेको छ ।