एजेन्सी । पोर्चुगलका विश्व चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल नासर क्लबबाट आज डेब्यु खेल खेल्ने भएका छन् । म्यानचेस्टर युनाइटेडसंगको सम्झौता रद्ध गरेर अल नासर अनुबन्धन भएका रोनाल्डोले आज हुने खेलबाट औपचारिक डेब्यु गर्न लागेका हुन् ।
रोनाल्डोले डेब्यु गर्ने खेलका लागि भब्य तयारी गरिएको छ । रोनाल्डोका ठुला ठुला पोस्टरदेखि स्टेडियमलाई सजिसजाउ गर्नेसम्मका कार्य गरिएको जनाइएको छ ।
साउदी अरबको घरेलु लिगमा अल नासर र अल इत्तिफाकविरुद्धको खेलबाट रोनाल्डोले नयाँ क्लबमा पहिलो खेल खेल्ने भएका हुन ।
यसअघि साउदीमै फ्रान्सको क्लब पिएसजीविरुद्ध भएको खेलमा रोनाल्डोले रियाद–११ का तर्फबाट खेलेका थिए । तर, सो खेल रोनाल्डोका लागि औपचारिक डेब्यू खेल थिएन । उक्त खेलमा रोनाल्डोले कप्तानी भूमिकामा खेल्दै २ गोल गरेर म्यान अफ् द म्याच अवार्ड पनि जितेका थिए ।
५ पटकयका बालोन डिओर विजेता रोनाल्डोको डेब्यू खेललाई भव्य बनाउन अल नासरले मिसूल पार्कमा रहेको आफ्नो घरेलु रंगशाला सजिसजाउ बनाएको छ ।
२५ हजार दर्शक क्षमता रहेको रंगशालामा रोनाल्डोका ठूल्ठूला पोस्टर टाँगिएको छ । त्यसैगरी, रंगशालामा रहेका कुर्सीमा रोनाल्डोको नाम र तस्बिर अंकित झण्डा राखिएको छ । आज रोनाल्डोको डेब्यू खेल साउदी अरबको फुटबलमै सबैभन्दा भव्य हुने जनाइएको छ ।
रोनाल्डोले समूहमा प्रशिक्षण गर्दै गरेका तस्बिर र भिडियो अल नासरले आफ्नो सामाजिक सन्जालबाट पोस्ट गर्दै रोनाल्डोको उपस्थिति र डेब्यु खेलमा दुनियाँको ध्यान आकर्षित गर्ने प्रयास गरिरहेको छ । रिपोर्ट अनुसार आज रोनाल्डोको डेब्यू खेलको प्रत्यक्ष प्रशारण गर्न अल नासरले विश्वभरका २४ वटा टिभी–च्यानललाई राइट्स बेचेको छ ।
ऋाज हुने खेलका लागि क्लबले १० दिनअघि नै अनलाइन टिकट खुला गरेकोमा साधारणतर्फ टिकट मात्रै २३ मिनेटमा सबै ‘सोल्ड आउट’ भएको थियो ।
आजको खेलको कप्तानी पनि रोनाल्डोले गर्ने भएका छन् । क्लबले रोनाल्डोलाई उनको डेब्यू खेलको कप्तान बनाउने निर्णय गेको छ । रोनाल्डोले आजको खेल मात्रै कप्तानी गर्ने हुन् वा उनी नै टिमका नियमित कप्तान हुन् भन्ने कुरा स्पष्ट भएको छैन ।
आज अल नासर र इत्तिफाकविरुद्ध हुने खेल अल नासरको घरेलु मैदान किङ साउद युनिभर्सिटी स्टाडियममा हुने भएको छ । यो अल नासरको घरेलु मैदान हो ।
अल नासर र इत्तिफाकको खेल नेपाली समय अनुसार राति ११ः१५ बजेबाट सुरु हुनेछ ।