एजेन्सी । विश्व फुटबल जगतका कट्टर प्रतिस्पर्धिका रुपमा हेरिएका क्रिस्टियानो रोनाल्डो र मेस्सी आमनेसामने हुने भएका छन् । आज हुने मैत्रीपुर्ण खेलका लागि यि खेलाडी भिड्ने भएका छन् ।
डेढ दशकभन्दा बढि समयदेखि एकअर्काका खास प्रतिस्पधी रहँदै आएका पोर्चुगलका रोनाल्डो र मेस्सी साउदीको राजधानी रियादमा मैत्रीपूर्ण खेल खेल्दै छन् ।
क्रिस्टियानो रोनाल्डोको नयाँ क्लब अल नासर र साउदी प्रो लिगकै अर्को क्लब अल हिलालको मिश्रित टिमविरुद्ध आज मेस्सी आवद्ध रहेको क्लब पिएसजीले खेल्नेछ । यस खेलका लागि पिएसजी टिम साउदी पुगि सकेको छ ।
आज उक्त मैत्रीपुर्ण खेल हुँदैछ । नेपाली समय अनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ । यस खेललाई ‘साउदी सिजन कप’ नाम दिइएको छ ।
फ्रान्सको क्लब पिएसजीको एक्लो टिमले साउदीका दुई टिमको संयुक्त टिमविरुद्ध खेल्ने हुँदा यो खेलमाथि सिंगो फुटबल जगतको ध्यान केन्द्रित भएको छ । पिएसजीको सामना गर्न लागेका साउदीका दुई क्लब मध्ये रोनाल्डोको टिम अल नासर अहिले साउदीको घरेलु लिगमा शीर्ष स्थानमा छ भने अल हिलाल दोस्रो स्थानमा छ ।
अर्को रोचकको खास कुरा के छ भने साउदी क्लबको कप्तानी अल नासरका नयाँ खेलाडी क्रिस्टियानो रोनाल्डोले गर्ने पक्का बनेको छ । अल नासर र अल हिलालले रोनाल्डोले पिएसजीविरुद्धको खेलको कप्तानी गर्ने घोषणा गरिसकेको छ । उता, पिएसजीको टिमको कप्तान नियमित कप्तान माक्र्विनहस आफैंले गर्नेछन् ।
आजको खेलको प्रमुख आकर्षकको केन्द्र रोनाल्डो र मेस्सी हुनेछन् । साउदी टिमका तर्फबाट सबैभन्दा ठूला खेलाडी रोनालडो हुनेछन् । पिएसजीका तर्फबाट भने मेस्सीका साथमा नेइमार, केलियन एमबाप्पे, सर्जियो रामोस लगायत पनि हुनेछन् ।