एजेन्सी । फिफा विश्वकप कतार २०२२ को ट्रफी उचालेका अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लिओनल मेस्सी ब्याक टु ब्याक कमालको इतिहास रचिरहेका छन् । विश्वकप जित्दै गर्दा कीर्तिमानीको वर्षा गराएका उनले फुटबलको सर्वोच्च निकाय फिफाबाट पाउने महत्वपुर्ण अवार्डका लागि छानिएका छन् ।
यस पटकको विश्व कप विजेता कप्तान लियोनल मेस्सी २०२२ को फिफा बेस्ट अवार्डका लागि मनोनयनमा परेका हुन् । उनले यस वर्षको फिफा बेस्ट अवार्ड जित्ने फुटबल पण्डितहरुले बताउदै आएका छन् ।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्न सफल भएको छ । भने उनी विश्वकप कतार २०२२ मा सर्वाेत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।
यस्तै, मेस्सीसहित बोरुसिया डर्टमुन्डका इंग्लिस मिडफिल्डर जुड बेलिङहम पनि फिफाको उक्त मनोनयनमा पर्न सफल भएका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडका जोडी क्रोएसियाका लुका मोड्रिच र फ्रान्सका करिम बेन्जेमा पनि मनोनयनमा परेका छन् । लिभरपुलका मोहम्मद सलाहसँगै म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड, केभिन डे ब्रुएना र जुलियन अल्भारेज पनि मनोनयनमा परेका छन् ।
यस्तै, महिलातर्फ चेल्सीका साम केर र जेसी फ्लेमिङ गत वर्षको विजेता एलेक्सिया पुटेलास मनोनयनमा पर्न सफल भएका छन् ।
उत्कृष्ट पुरुष प्रशिक्षकमा रियल मड्रिडका कार्लो एन्सेलोटी, फ्रान्सका डिडियर डेसच्याम्प्स र अर्जेन्टिनाका विश्वकप विजेता प्रशिक्षक लियोनल स्कालोनीसँगै मोरक्कोका वालिद रेग्रागुई मनोनयनमा परेका छन् ।
लिभरपुलका एलिसन बेकर, म्यानचेस्टर सिटीका इडरसन र एस्टन भिल्ला र अर्जेन्टिनाका इमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपरको अवार्डमा छन् । मतदान फेब्रुअरी ३ सम्म छ । हरेक विधामा उत्कृष्ट तीन जना छनोट गरी एक महिनापछि विजेता घोषणा गरिनेछ ।
उत्कृष्ट महिला खेलाडीको मनोनयनमा एइटाना बोनमाटी (स्पेन/बार्सिलोना),देबिन्हा (ब्राजिल/उत्तरी क्यारोलिना करेज), जेसी फ्लेमिङ (क्यानाडा/चेल्सी), अडा हेगरबर्ग (नर्वे/लियोन), साम केर (अष्ट्रेलिया/चेल्सी), बेथ मिड (इंग्ल्याण्ड/आर्सनल), भिभियन मिडेमा (नेदरल्याण्ड्स/आर्सनल), एलेक्स मोर्गन (यूएसए/ओर्लान्डो प्राइड/सान डिएगो वेभ), लिना ओवेरड्रफ (जर्मनी/वल्फ्सवर्ग), अलेक्जान्ड्रा पप (जर्मनी/वल्फ्सबर्ग), एलेक्सिया पुटेलास (स्पेन/बार्सिलोना), वेन्डी रेनार्ड (फ्रान्स/लियोन), केइरा वाल्स (इंग्ल्याण्ड/म्यानचेस्टर सिटी/बार्सिलोना) र लेह विलियमसन (इंग्ल्याण्ड/आर्सनल) पर्न सफल भएकी छिन् ।
यस्तै, उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा जुलियन अल्भारेज (अर्जेन्टिना/म्यानचेस्टर सिटी), जुड बेलिङहम (इंग्ल्याण्ड/बोरुसिया डर्टमुन्ड), करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड), केभिन डि ब्रुएना (बेल्जियम/म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (नर्वे/म्यानचेस्टर सिटी), अचरफ हाकिमी (स्पेन/पिएसजी), रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बार्सिलोना), साडियो माने (सेनेगल/बायर्न म्युनिख), केलियन एमबाप्पे (फ्रान्स/पिएसजी), लियोनेल मेस्सी (अर्जेन्टिना/पिएसजी), लुका मोड्रिच (क्रोएसिया/रियल म्याड्रिड), नेयमार (ब्राजिल/पिएसजी), मोहम्मद सलाह (इजिप्ट/लिभरपुल) र भिनिसियस जुनियर (ब्राजिल/रियल म्याड्रिड) परेका छन् ।
उत्कृष्ट महिला प्रशिक्षकको मनोनयनमा सोनिया बोम्पास्टर (फ्रान्स/ओलम्पिक लियोन), एम्मा हेस (इंग्ल्याण्ड/चेल्सी), बेभ प्रिस्टम्यान (इंग्ल्याण्ड/क्यानडा), पिया सुन्धगे (स्वीडेन), मार्टिना भोस–टेकलेनबर्ग (जर्मनी) र सरिना विग्म्यान (इंग्ल्यान्ड) परेकी छिन् ।
उत्कृष्ट पुरुष प्रशिक्षकको मनोनयनमा कार्लो एन्सेलोटी (इटाली/रियल म्याड्रिड), डिडियर डेसच्याम्पस (फ्रान्स), पेप गुआर्डीओला (स्पेन/म्यानचेस्टर सिटी), वालिद रेग्रागुई (मोरक्को) र लियोनेल स्कालोनी (अर्जेन्टिना) रहेका छन् ।
उत्कृष्ट महिला गोलकिपरको मनोनयनमा एन–क्याट्रिन बर्गर (जर्मनी/चेल्सी), मेरी इपस (इंग्ल्याण्ड/म्यानचेस्टर युनाइटेड), क्रिस्टियन एन्डलर (चिली/ओलम्पिक लियोन), मेरले फ्रोहम्स (जर्मनी/वल्फ्सवर्ग), एलिसा नेहर (अमेरिका/शिकागो रेड स्टार्स) र सान्ड्रा पानोस गार्सिया–भिल्लामिल (स्पेन/बार्सिलोना) परेकी छिन् ।
यस्तै, उत्कृष्ट पुरुष गोलकिपरको मनोनयनमा एलिसन बेकर (ब्राजिल/लिभरपुल), यासिन बोनौ (मोरक्को/सेभिल्ला), थिबाउट कोर्टोइस (बेल्जियम/रियल म्याड्रिड), एडरसन (ब्राजिल/म्यानचेस्टर सिटी) र एमिलियानो मार्टिनेज (अर्जेन्टिना/एस्टन भिल्ला) परेका छन् ।