एजेन्सी । इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत भएको खेलमा लिभरपुलले विपक्षी टिमलाई गोल उपहार दिएसंगै नमज्जाको हार बेहोर्न पुगेको छ । गए राति भएको ब्रेन्टफर्डसँगको खेलमा आत्मघाती गोल गर्दै लिभरपुल पराजित बन्न पुगेको हो ।
ईपीएलमा लिभरपुलले ब्रेन्टफर्डसँग पहिलो हार बेहोर्न पुगेको छ । लिभरपुल घरेलु टोली ब्रेन्टफर्डसँग ३–१ ले पराजित भएको हो ।
सोमबार राति भएको खेलमा घरेलु टोली ब्रेन्टफडको जितमा योइन विसा र ब्रायन मविउमोले १÷१ गोल गर्न सफल भए । यस्तै, अर्को एक गोल भने लिभरपुलबाटै उपहार पाएको थियो ।
ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा भएको ब्रेन्टफर्डसंगको खेलमा लिभरपुलका लागि भने एलेक्स अक्सलेड चेम्वरलेनले एक गोल गर्न भएका थिए ।
पहिलो हाफको १९औं मिनेटमा इब्राहिमा कोनाटको आत्मघाती गोलबाट ब्रेन्टफर्डले १–० को अग्रता लियो । कर्नरबाट आएको बलमा बिन मिको प्रयासलाई बचाउन खोज्दा कोनाटको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको ४२औं मिनेटमा योइन विसाले गोल गर्दै ब्रेन्टफर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले म्याथिअस जेन्सेनको पासमा गोल गर्न सफल भएका हुन् ।
दोश्रो हाफको ५०औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने संकेत दिएका थिए । उनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गरेका हुन् ।
तर, खेलको ८४औं मिनेटमा ब्रायन मविउमोले गोल गर्दै लिभरपुलमाथि ३–१ को फराकिलो जित बनाए ।
यो जितसँगै ब्रन्टफर्ड १८ खेलबाट २६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल १७ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ ।