एजेन्सी । पोर्चुगलका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि झनै कडा बनेर निस्किएका छन् म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्ड । रोनाल्डोले म्यानचेस्टर युनाइटेड क्लब छाडेर अहिले साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । त्यसपछि रासफोर्डले लगातार गोल गर्दै युनाइटेडलाई जित दिलाउन सफल भएका छन् ।
विश्वकपपछि सुरु भएको इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत भएको खेलमा रासफोर्डले लगातार गोल गर्न सफल भएका हुन् । रोनाल्डोपछि चम्कने खेलाडीको रूपमा लिइएको रासफोर्डले त्यो सम्भावनालाई देखाएका छन् ।
गए राति भएको खेलको अन्त्यतिर मार्कस रासफोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वल्भ्सलाई पराजित गर्न सफल भएको छ । पाहुना टोली युनाइटेडले वल्भ्सलाई उसकै मैदानमा पराजित गरेको हो ।
युनाइटेडको जितमा रासफर्डले दोस्रो हाफको ७६औं मिनेट गरेको गोल नै निर्णायक बन्यो । उक्त गोलमा ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।
मोलिनेअक्स स्टेडियम वल्भ्समा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा वल्भ्सले केही अवसर पाएपनि गोल गर्न सकेनछ ।
प्रिमियर लिगमा युनाइटेडको यो लगातार तेस्रो जित हो । यसअघि इएफएल कपमा युनाइटेडले च्याम्पियनसिप क्लब बर्नलेलाई २–० ले पराजित गरेको थियो । यस्तै, नटिङहम फरेस्टलाई ३–० ले पराजित गरेको थियो । तिन वटै खेलमा रासफोर्डले गोल गर्न सफल भएका छन् ।
यो जितसँगै युनाइटेड १६ खेलबाट ३२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित वल्भ्स १३ अंक जोडेर १९औं स्थानमा रहेको छ ।