एजेन्सी । पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपको क्लब म्यानचेस्टर युनाइटेड छाडेर रोनाल्डो अल नासर पुगेका हुन् ।
नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान बनेको छ ।
क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध गरेका हुन् । अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् ।
साउदी प्रो लिग च्याम्पियन अल नासरले पनि रोनाल्डोलाई अनुबन्ध गरेर नयाँ इतिहास बनाउने क्रममा रहेको बताएको छ ।
पोर्चुगलका केहि क्लबले रोनाल्डोको अवस्थाबारे जानकारी लिएपनि आर्थिक रुपमा उनको माग पूरा गर्न नसक्ने हुँदा क्लब पछि हटेका थिए । यसअघि नै रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले युरोपेली क्लबहरुलाई रोनाल्डो अनुबन्धनका लागि प्रयास गरेका थिए । तर त्यो सफल हुन सकेन । अन्ततः साउदी साउदी क्लब अल नासरमा अनुबन्ध हुन पुगेका छन् ।
रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने इच्छा देखाएपनि शीर्ष क्लबले उनलाई आफ्नो योजनामा समेट्न नसक्ने बताएका थिए । विशेषगरी चेल्सीका नयाँ मालिकले रोनाल्डोलाई मुख्य अनुबन्धनको रुपमा ल्याउन खोजेका थिए । तर तत्कालिन प्रशिक्षक थोमस टुचेलले आफ्नो योजनामा नरहने भन्दै ट्रान्सफर हुन दिएनन् ।
जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आइन्ट्राक्ट फ्रान्कफर्टले पनि रोनाल्डो अनुबन्ध नगर्ने सार्वजनिक रुपमा बताएका थिए । रियल म्याड्रिडले दुवै पक्षका लागि रोनाल्डोको आगमन राम्रो नहुने बताएको थियो ।