एजेन्सी । फिफा विश्वकप कतार २०२२ मा उत्कृष्ट लयमा देखिएका फान्सका युवा फरवार्ड किलीयन एमबाप्पे फुटबल फ्यानहरुको मनमनमा बसेका छन् । यस पटकको विश्वकप फुटबलमा विशेष चर्चामा रहेका एमबाप्पे आफु आबद्ध क्लब पिएसजीमा फर्किएपछि पनि चम्किएका छन् । खेलमा उनी चम्किएसंग पिएसजीलाई २–१ को जित निकाल्न सफल भए ।
फ्रान्सेली लिग वनमा स्ट्रासबर्गविरुद्ध बुधबार भएको खेलमा पिएसजीले २–१ को जित निकाल्न सफल भएको हो । जुन जितका लागि एमबाप्पेले निर्णायक गोल गर्न सफल भए ।
खेलको १४औं मिनेटमा मार्किन्हसले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले नेयमारको फ्रिकिकलाई हेडरमार्फत बललाई पोस्टको दिशा दिएका थिए ।
खेलको ५१औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आयो । एड्रिएन थोमासनको क्रस मार्किन्हसलाई डिफ्लेक्ट हुँदा गोलरक्षक जियानलुइजी डोन्नररुम्माले बचाउन सकेनन् ।
यस्तै, खेलको ६१औँ मिनेटमा पिएसजीका फरवार्ड नेयमारले रातो कार्ड पाएसंगै पिएसजी १० खेलाडीमा सिमित बन्यो । दुई मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै नेयमार मैदानबाट बाहिरिँदा पिएसजी खेलमा दवावमा परेको थियो । पेनाल्टी बक्समा अनावश्यक डाइभ गरेको भन्दै रेफ्री क्लेमेन्ट टुर्पिनले दोस्रो पहेंलो कार्डसहित रातो कार्ड देखाए ।
नेयमारले रातो कार्ड पाउँदा खेल १–१ को स्थितिमा थियो । नेयमार बाहिरीएपछि १० खेलाडीमा समेटिएपनि पिएसजीले पाहुना टोलीमाथि लगातार दवाव सिर्जना गरिरह्यो ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा एमबाप्पेले पेनाल्टी मार्फत गोल गर्दै पिएसजीलाई २–१ को सनसनीपूर्ण जित दिलाए ।
पेनाल्टी बक्समा आँफैलाई न्याम्सीले फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गर्दा एमबाप्पे उक्त अवसरमा चुकेनन् ।
यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको लेन्सको ३६ अंक छ । भने पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औं स्थानमा छ ।