काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले रवि लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिइएको हो ।
त्यस्तै, मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको बताएका छन् ।
उनले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि गएको निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषदले समेटेको बताए ।
‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ । र एउटा आशा जगाएको छ । हामीले भर्खरै पहिलो बैठक सक्यौं ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सबैभन्दा पहिलो कुरा त नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने कुरा, सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर त्यसका समाधानका निम्ति केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेका छौं ।’