शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि


  • आइतबार, पुष ३ २०७९
10.1K
SHARES

फाइल तस्विर

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । साविक विजेता फ्रान्सलाई रोक्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिएको थियो ।

अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

खेलको २३ औं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान ह्युगो लोरिसलाई गलत दिशामा पठाउँदै अर्जेन्टिनालाई अघि बढाए ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया गोल गर्न सफल भए ।

८० औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

एमबाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए । कोलो मुआनीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको हाफ भलीमा मार्टिनेजले हात लगाएपनि पोस्टभन्दा बाहिर पठाउन सकेनन् ।

यस्तै, अतिरिक्त समयको खेलमा मेस्सीले १०८औँ मिनेटमा गोल गरे । भने फ्रान्सका लागि एमबाप्पेले खेलको ११८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए । उक्त गेलसंगै एमबाप्पेले ह्याट्रिक गर्न सफल भएका छन् । अतिरिक्त समयमा पनि बराबरी गोल भएसंगै खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा सनसनीपूर्ण जित निकाल्दै लिओनल मेस्सी कप्तान रहेको अर्जेन्टिनाले विश्वकपको ट्रफी उचालेको हो । फ्रान्स उपविजेता बनेको छ । टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा