काठमाडौं । मोरक्कोलाई २–१ गोगले पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ ।
खलिफा रंगशालामा सम्पन्न तेस्रो स्थानको प्लेअफमा मोरक्कोलाई हराएसँगै साविक उपविजेता क्रोएसियाले विश्वकप २०२२ का कास्य पदक जितेको हो ।
क्रोएसियालाई जित दिलाउन जोस्को भार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरक्कोका असरर्फ दारीले एक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो ।
जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।
मोरक्कोले २ मिनेटपछि नै गोल फर्कायो । अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए ।
दारीले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए ।
४२ औं मिनेटमा क्रोएसियाले पुन अग्रता लियो । मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
सोहि अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै क्रोएसियाले कमालको जित निकाल्यो ।
विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् ।