एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ फुटबलको क्वाटरफाइनल खेलमा क्रोएसियासंग टाइब्रेकरमा ४–२ गोलले हार ब्योहोर्दै विश्वकपबाट बाहिरिएपछि ब्राजिलका स्टार फरवार्ड नेयमार बिछिप्त बने । खेल सकिएपछि उनको आँखामा आँसु रोकिएन । उनी आफै मात्र रोएनन् विश्वभर रहेका ब्राजियन समर्थकलाई पनि रुवाए ।
बिछिप्त बनेका स्टार फरवार्ड नेयमारलाई ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेले महत्पूर्ण सन्देश दिएका छन् । उक्त सन्देशबाट नेयमारका लागि पुनः मैदान फर्कने ऊर्जा मिलेको फुटबल जानकारहरू बताउँछन् ।
पेलेले आफ्नो कीर्तिमान बराबर गरेकोमा सुरुवातमा नेयमारलाई बधाई दिएका छन्। नेयमारले ब्राजिलका लागि ७७ गोल गर्दै पेलेको रेकर्ड बराबर गरेका थिए । ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमार मैदानमा केही बेर रोएका थिए । टोलीका साथीहरूले उनलाई पिचमा सान्त्वना दिन खोज्दा नेयमारको आँसु झरेको थियो ।
पिएसजी फरवार्डसमेत रहेका नेयमारले आफ्नो १२४औँ म्याचमा राष्ट्रिय टोलीका लागि ७७ गोलको आधिकारिक कीर्तिमान बराबर गरेपछि ८२ वर्षीय पेलेले नेयमारलाई सुन्दर सन्देश दिएका हुन् ।
पेलेले सन्देश दिँदै भनेका छन्, ‘मैले तिमीलाई बढ्दै गरेको देखेको छु, म हरेक दिन तिम्रो लागि खुसी थिएँ र म अन्तमा ब्राजिलसँग मेरो गोलको सङ्ख्यामा पुग्नको लागि तिमीलाई बधाई दिन सक्छु। हामी दुबैलाई थाहा छ कि यो एक आँकडाभन्दा बढी हो,’ ८२ वर्षीय पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘एथलीटको रूपमा हाम्रो सबैभन्दा ठुलो कर्तव्य प्रेरणा दिनु हो। हाम्रा आजका टोलीका साथीहरूलाई आगामी पुस्ताहरू र सबैभन्दा माथि हाम्रो खेललाई माया गर्ने सबैलाई प्रेरित गर्नुहोस् ।’
पेलेले अगाडि भने, ‘दुर्भाग्यवश यो हाम्रो लागि सबैभन्दा खुसीको दिन होइन । मेरो रेकर्ड लगभग ५० वर्ष पहिले सेट गरिएको थियो र अहिलेसम्म कोही पनि यसको नजिक पुग्न सकेन । तिमी त्यहाँ पुग्यौँ। यसले तिम्रो उपलब्धि कति ठुलो छ भनेर देखाउँछ ।’
विश्व चर्चित पेलेको यस अद्भुत सन्देशले समर्थकहरूको पनि मन छोएको छ । विश्वकपबाट बाहिरिएपछि बिछिप्त बनेका नेयमारलाई पेलेको यो सन्देशबाट पुनः मैदान फर्कन महत्त्वपूर्ण ऊर्जा मिलेको भन्दै समर्थकहरूले खुसी व्यक्त गरेका छन् ।
नेयमारले १८ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनी अहिले ३० वर्ष भएका छन् ।
क्रोएसियासंगको क्वाटरफाइनल खेलमा निर्धारित समयमा गोलरहित भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाएको छ ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विवन्होस पेनाल्टीमा गोल गर्न चुके ।
रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए भने मार्क्विवन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो ।
त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०६ औँ मिनेटमा गोल गरेका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
नेयमारको यो ब्राजिलका लागि ७७ औँ गोल हो । पेलेले पनि ७७ गोल गरेका थिए ।