एजेन्सी । नेदरल्यान्ड्सलाई हराउँदै सेमिफाइनल पुगेको अर्जेन्टिनामाथि कारबाही गर्न फुटबलको सर्वोच्च संस्था ‘फिफा’ मैदानमा उत्रिएको छ । विश्वकप खेलको दौरानमा अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीका लागि फिफा मैदानमा उत्रिएको हो ।
यस्तै, अर्को टिम नेदरल्यान्ड्सलाई पनि उक्त जरिवाना गर्ने भएको छ ।
विश्व फुटबल महासंघ (फिफा) ले कतार विश्वकपमा क्वाटरफाइलनमा प्रतिस्पर्धा गरेका यी दुई टिम अर्जेन्टिना र नेदरल्यान्ड्सलाई नै कारबाही गर्ने निर्णय लिएको छ ।
विश्वकपका क्रममा दुवै टिमले अनुशासन मिचेको निष्कर्षसहित फिफाले जरिवाना तिराउन लागेको हो। तर यी दुई टोलीको जरिवाना भने निर्धारण भइसकेको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार दुवै टोलीले जनही १६ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
विश्वकपको क्वाटरफाइनलका क्रममा यी दुईबीचको खेल तनावपूर्ण भएको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समय २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएको खेलमा बेन्चमा भएका खेलाडी मैदान छिरेर विवादमा उत्रिएका थिए ।
यो खेलमा रेफ्रीले पहेँलो कार्डको बर्षात् नै गरेका थिए । यस क्रममा अर्जेन्टिना र नेदरल्यान्ड्सका १७ खेलाडीले पहेँलो कार्ड पाएका थिए । पटक पटक घम्साघम्सीमा उत्रिएका दुवै देशका टोलीमाथि फिफाले अनुशासनको कारवाही गर्न लागेको हो ।