एजेन्सी । विश्वकप फुटबलको रिपोर्टिङ्ग गर्न आएका खेल पत्रकारको दुखद निधन भएको छ । कतारमा जारी फिफा विश्वकप २०२२ फुटबलको रिपोर्टिङ्ग गर्न आएका अमेरिकी खेल पत्रकारको निधन भएको हो ।
अमेरिकाका चर्चित फुटबल पत्रकार मानिने ग्रान्ट वाहलको कतारमा ज्यान गुमाएका छन् । यस घटनाले सिंगो फुटबल जगतसंगै अमेरिकालाई स्तब्ध बनाएको छ ।
४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए ।
उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ । यद्यपी यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।
गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए।
यसैबीच, युस सकर फेडरेसनले ग्रान्ट वाहलको मृत्युलाई हृदयविदारक भनेको छ ।
यो पनि हेर्नुहोस्,
मोरक्को पुग्यो सेमिफाइनल, बाहिरियो पोर्चुगल
एजेन्सी । कतारमा जारी फिफा विश्वकप कतार अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगलविरुद्ध नाटकिय जित निकाल्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १–० को जित दर्ता गर्दै मोरक्को सेमिफाइन प्रवेश गरेको छ । यो जितसंगै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
खेलको ४२ औं युसुफ एन नेसरीले नाटकिय रुपमा हेडबाट गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए ।
लगत्तै अर्कोतर्फ पोर्चुगल बराबरी गोलनजिक पुगेको थियो । तर क्रसबार त्यसको अघि बाधक बन्यो । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।
८३ औं मिनेटमा गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा बोनोले रोनाल्डोको प्रहारमा गरेको पहिलो बचाउ फुस्काएपनि दोस्रो प्रयासमा रिबाउन्डलाई सुरक्षित राखे । इन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए ।
यस जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
चौथो क्वाटरफाइनल आज मध्यरात १२ः४५ बजे हुनेछ । अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।