काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गतको क्वाटरफाइनलको खेल भइरहेकोछ । पहिलो खेलमा क्रोएसिया र ब्राजिलको खेल भएको थियो । जस अन्तर्गत पेनाल्टी सुटमा चमत्कारी जित निकाल्दै क्रोएसिया अन्तिम ४ मा प्रवेश गर्न सफल भएको छ ।
यस्तै, दोश्रो क्वाटरफाइनल अन्तर्गतको खेल अहिले भइरहेको छ । नेपाली समय अनुसार १२ः४५ बजेबाट अर्जेन्टिना र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ ।
दुवै टिम अन्तिम ४ मा पुग्नका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन् । खेलमा रोचकता थपिएको छ ।
पहिलो हाफमै अर्जेन्टिनका लागि कप्तान लिओनल मेस्सी चम्किएका छन् । विश्वकप फुटबलमा अहिलेसम्मकै उच्च लयमा रहेका मेस्सीले कमालको पास निकाल्दै अर्जेन्टिनालाई एक गोलको अग्रता दिएका छन् ।
खेलको ३५औँ मिनेटमा कप्तान मेस्सीको पासबाट मउलिनाले गोल गर्दै अर्जेन्टिनालाई एक गोलको अग्रता दिएका छन् । नेदरल्यान्ड्स पहिलो हाफमा एक गोलले पछाडी परेको छ । पहिलो हाफमै एक गोलले पछाडी परेको नेदरल्यान्ड्सलाई दबाब थपिएको छ ।
अहिले पहिलो हाफको खेल सम्पन्न भएको छ । दोश्रो हाफको खेल केही बेरमा सुरु हुनेछ ।
नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएर अन्तिम आठमा भेट पक्का गरेको हो ।
कोडी गाक्पो, डेन्जेल डम्फ्रिज, मेम्फिस डिपाए र डेली ब्लिन्ड अर्जेन्टिनाविरुद्ध मुख्य हतियार हुन् ।
यता, सात पटकको बालोन डि ओर विजेता लियोनेल मेस्सी निकै उच्च लयमा रहेको छ । दुई हेवीवेटको भिडन्तमा कसले जित निकाल्ने हो त्यो भने हेर्न बाकी छ ।