एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को फुटबल चलिरहदा पोर्चुगलको टोलीमा लगातार तनाव देखिएको छ । टोलीका प्रमुख खेलाडी तथा कप्तान समेत रहेका क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोषबीच खटपट भएको खबर अन्तर्राष्ट्रिय मिडियामा आएका छन् ।
अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरद्ध ६–१ को जित निकाल्ने क्रममा रोनाल्डोलाई सुरुआतमा नखेलाई बेन्चमा राखिएको थियो । उक्त खेलमा रोनाल्डो खेलको ७३औं मिनेटमा मात्रै मैदान पसेका थिए । महत्त्वपूर्ण खेलमा बेन्चमा रहनुपर्दा रोनाल्डो पटक्कै खुसी थिएनन् । दोस्रो हाफमा पनि उनलाई ढिला मात्रै मैदान उतारियो ।
स्वीट्जरल्यानडसँगको खेलअघि समूह चरणको अन्तिम खेलमा साउथ कोरियाविरुद्ध खेल्ने क्रममा रोनाल्डोलाई चाँडै सब्सिच्यूट गर्दा उनी रिसाएका थिए । प्रशिक्षक सान्तोषले रोनाल्डोलाई स्वीट्जरल्यान्डविरुद्ध सरुआती ११ मै राखेनन्, बेन्चमा थन्क्याइदिए ।
त्यहाँबाट रोनाल्डो झनै झनै रिसाए । कोरियासँगको खेलपछि रोनाल्डोसँग छलफल गरेर समस्या सुल्झाएको प्रशिक्षकले स्वीट्जरल्यान्डसँगको खलअघि बताएका थिए । तर, भोलिपल्ट उनले रोनाल्डोलाई सुरुआती ११ मा राखेनन्, बेन्चमा राखे ।
टोलीका प्रमुख खेलाडी र कप्तानलाई नै महत्त्वपूर्ण खेलमा बेन्चमा राखेपछि रोनाल्डो रिसाउनु स्वभाविक नै थियो । स्वीट्जरल्यान्डविरुद्ध टिमले ६ गोल गर्दा रोनाल्डोका नाममा गोल र असिस्ट दुवै रहेन ।
तर पनि टिमको जितमा उनी खुसी भए । अन्तिम आठमा अब पोर्चुगलले मोरक्कोसँग खेल्नेछ । सो खेलपछि पोर्चुगलको टिममा थप तनाव देखिएको छ । स्वीट्जरल्यान्डसँगको खेलपछि दुई दिन खेल नरहेकोमा सान्तोषले पहिलो दिन ती खेलाडीलाई मात्रै प्रशिक्षणमा बोलाएका थिए, जो–जो स्वीट्जरल्यान्डविरुद्धको खेलमा सुरुआती ११ मा परेका थिएनन् ।
अथवा बेन्चमा रहेका र बेन्चबाट खेलेका खेलाडीलाई मात्रै प्रशिक्षणमा बोलाइएको थियो । अन्य खेलाडीलाई भने जिमखानामा अभ्यास गर्न भनिएको थियो । तर, रोनाल्डो ‘बेन्च खेलाडीको प्रशिक्षण क्याम्प’ गएनन् । बेन्च खेलाडीको प्रशिक्षणमा आफूलाई डाकेर आफ्नो अपमान गरेको ठानेर रोनाल्डो प्रशिक्षणमा सामेल भएनन् ।
र, अन्य सहकर्मीसँगै जिममा मिसिएर अभ्यास गरे । तर, यो कुरा प्रशिक्षकको निर्देशन अनुसार थिएन । सान्तोषले बेन्च खेलाडीलाई मात्रै पूरा प्रशिक्षणमा डाकेपछि त्यहाँ रोनाल्डो पनि हुनुपर्ने थियो । तर, रोनाल्डो गएनन् ।
प्रशिक्षक सान्तोषको निर्देशन अनुसार रोनाल्डो प्रशिक्षणमा नगई सुरुआती टिमका खेलाडीसँग जिमखानामा सामेल भएपछि यस कुराले अबको खेलमा झन् असर पार्ने बुझिएको छ । रोनाल्डोको यही व्यवहारले अबको खेलमा पनि रोनाल्डो बेन्चमै थन्किने वा खेल्नै नपाउने सम्भावना रहने अनुमान गर्न सकिन्छ ।
यसअघि स्वीट्जरल्यान्डविरुद्धको खेलमा सान्तोषलाई अन्तिम आठमा रोनाल्डोले खेल्ने वा नखेल्ने विषयमा सोध्दा त्यो ‘अवस्था हेर्नुपर्ने’ भन्दै हलुका जवाफ दिएका थिए । अझ आफ्नो निर्देशन अनुसार प्रशिक्षणमा सामेल नभएपछि रोनाल्डोमाथि सान्तोषले थप ‘एक्सन’ लिने सम्भाना बढेको छ ।
स्वीट्जरल्यान्डविरुद्धको खेलमा रोनाल्डो बेन्चमा रहँदा उनी ठूला प्रतियोगितामा ३१ खेलपछि रोनाल्डो पहिलोपटक प्लेइङ ११ मा पर्न असफल भएका थिए । सन् २००८ यता उनले करियरमा पहिलोपटक आधिकारिक ठूला खेलमा बेन्चबाट खेल्नु परेको थियो ।
२००८ पछि ठूला प्रतियोगिताका ठूला खेलमा रोनाल्डोलाई कहिल्यै पनि बेन्चमा राखिएको थिएन । यता, रोनाल्डोसँग बढेको विवादले टिमलाई असर पार्ने भन्दै अन्य खेलाडीले यसलाई प्रशिक्षकले चाँडै सल्टाउनुपर्ने बताएका छन् । स्वीट्जरल्यान्डविरुद्धको खेलपछि मिडफिल्डर ब्रुनो फर्नान्डेजले यस्तो बेला टिममा समस्या पैदा हुनु राम्रो नरहेको भन्दै प्रशिक्षक र क्रिस्टियानो रोनाल्डोले बसेर समाधान गर्नुपर्नेमा जोड दिए ।