एजेन्सी । फुटबल जगतको ‘जनजनको मनमन’मा बसेको फ्रान्सका किलियन एम्बाप्पे विश्वकप फुटबलमा राउण्ड १६ का खेलहरु जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी पुगेका छन् । राउण्ड १६ को खेलमा पोल्याण्डविरुद्ध २ गोल गरेका एमबाप्पेले विश्वकपमा कुल ५ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी उभ्याएका हुन् ।
एम्बाप्पेले यस अघिको विश्वकपमा जम्मा ४ गोल गरेका थिए । यस पटकको विश्वकपका ४ खेलमा ५ गोल गरिसकेका छन् । अब फ्रान्स क्वाटरफाइनलमा पुगिसकेकाले यस विश्वकपको गोल्डेन बुटको दाबेदारमा एम्बापेलाई नै हेरिएको छ ।
त्यस्तै, गोल्डेन बुटको दौडमा अहिलेसम्म ३–३ गोल गरेर ७ खेलाडीले पछ्याइरहेका छन् । जसमा अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सकै ओलिभर जिरोउड, ईङल्याण्डका मार्कस राशफोर्ड, बुकाया साका, स्पेनका अल्भारो मोराटा र नेदरल्याण्डका कोडी गाक्पो रहेका छन् ।
इक्वेडरका इनर भलेन्सियाले पनि ३ गोल गरेका छन् । इक्वेडर विश्वकपबाट बाहिरीएकाले भलेन्सिया भने अब गोल्डेन बुटको दौडबाट बाहिर रहेका छन् ।
त्यस्तै २–२ गोल गरेर गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका जुलियन अल्भारेज, ब्राजिलका रिचार्लिशन, नेदरल्याण्डसका आन्द्रेज क्रामारिक, जापानका रिटसु दोआन, पोर्चुगलका ब्रुनो फर्नानडेज, दक्षिण कोरियाका चो गुए संग, स्पेनका फेरान टोरेज र स्वीजरल्याण्डका ब्रील एम्बोलो रहेका छन् ।
विश्वकपमा दुई वा सोभन्दा बढी सर्वाधिक गोलकर्ता भए पेनाल्टीबाहेक बढी गोल गर्नेलाई गोल्डेन बुट दिइन्छ । त्यो पनि समान भएको अवस्थामा असिस्ट बढी गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ। असिस्ट पनि समान रहेको अवस्थामा जसले कम समय खेलेको छ उसले गोल्डेट बुट पाउँछ। गोल्डेन बुट अफिसियलरुपमा सन् १९८२ को विश्वकपबाट वितरण सुरु भएको हो। सन् २०१० अघिसम्म गोल्डेन सुका रुपमा यो अवार्ड वितरण हुने गरेको थियो।
सन् १९९४ को विश्वकपबाट एक जनालाई मात्र गोल्डेन बुट दिनका लागि टाइब्रेकरको नियम ल्याइएको थियो । जसमा समान गोल भए पेनाल्टीबाहेकको गोल जसले बढि गरेको छ । त्यसैलाई प्रदान गरिने व्यवस्था थियो। त्यो पनि बराबरी भएको अवस्थामा बढी असिस्ट गर्ने खेलाडीले पाउने नियम बनाइएको थियो। तर यो नियम कार्यान्वयन भएको पहिलो विश्वकपमै दुई जनालाई गोल्डेन बुट प्रदान गर्नुपर्ने अवस्था बन्यो। रुसका ओलेग सालेन्को र बुल्गेरियाका रिस्तो स्टोइचकोभले समान गोल र समान असिस्ट गरेका थिए। दुवैले ६ गोल र एक असिस्ट गरेका थिए।
रुस समूहगत चरणबाटै बाहिरिएपनि सालेन्को गोल्डेन बुट विजेता बने। समूहगत चरणबाटै बाहिरिएका खेलाडीले गोल्डेन बुट जितेको यही एक मात्र घटना हो। गोल्डेन बुट विजेता छुट्याउन सन् २००६ मा अर्को पनि टाइब्रेकर नियम ल्याइयो। असिस्ट पनि बराबरी भएको अवस्थामा जसले कम समय खेलेको छ उसैलाई गोल्डेन बुट दिइने प्रावधान राखियो।
सन् २०१० को विश्वकपमा चार जनाले सर्वाधिक ५ गोल गरेका थिए। बढी असिस्ट गरेको आधारमा मुलरले अवार्ड विजेता बने। उनले ३ असिस्ट गरेका थिए भने अन्यको नाममा एक एक असिस्ट रहेको थियो। स्पेनका डेभिड भिया कम समय खेलेको आधारमा दोस्रो भएका थिए।