काठमाडौँ । मंसिर ४ मा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणनाको सम्पुर्ण नतिजा आएको छ । समानुपातिक तर्फको केहि नतिजा आउन बाँकी रहे पनि मुलभूत रुपले नतिजा आइसकेको छ ।
यस पटकको निर्वाचनमा केहि नयाँ पार्टीहरुले आफ्नो जबर्जस्ती उपस्थिती कायम गरेका छन् । भने, केहि पुराना पार्टीहरुलेनै पनि नमिठो धक्का खाएका छन् । पाँच महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने कमालकै नजिता ल्याएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध पाँच दलिय गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुले सामान्य बहुमत समेत ल्याउन सकेनन् । विपक्षी दल नेकपा एमाले पनि पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर निर्वाचनमा गएको थियो । एमालेले पनि बहुमत ल्याउन सकेन ।
नेकपा (एमाले) ले एकल सरकार बनाउन सक्ने गरि बहुमत नल्याए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा रेकर्ड कायम गरेका छन् । देशभरीमा सबैभन्दा धेरै भोट ल्याएर चुनाव जित्ने सांसदको रेकर्ड ओलीले बनाएका छन् । अघिल्लो पटक पनि यो रेकर्ड ओलीकै नाममा रहेको थियो ।
यो निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेर प्रतिनिधि सभामा निर्वाचित हुने उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली बनेका छन्। झापा–५ बाट निर्वाचित ओलीले यो निर्वाचनमा ५२ हजार १ सय १९ मत प्राप्त गरी सर्वाधिक मत प्राप्त गर्ने विजेता बनेका हुन्।
२०७४ को आम निर्वाचनमा पनि ओली सर्वाधिक मतका साथ विजयी भएका थिए। त्यो निर्वाचनमा अध्यक्ष ओली ५७ हजार १ सय ३० मतसहित विजयी भएका थिए । त्यो बेला र यसपटकपनि उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी रहे।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले पनि निर्वाचनमा रेकर्ड बनाएका छन् । सबैभन्दा धेरै मतान्तरमा निर्वाचन जित्ने सांसदको रेकर्ड लामिछानेले बनाएका छन् ।निर्वाचन प्रक्रिया प्रारम्भ भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने निरन्तर चर्चामा रहे। स्थानीय तह निर्वाचनपछि स्थापना भएको उनी नेतृत्वको ‘रास्वपा’ ले समानुपातिकतर्फ चौथो ठूलो दल बन्यो भने प्रतिनिधि सभाका ७ सिटमा प्रत्यक्षतर्फ विजयीपनि भयो ।
यो नतिजासँगै ‘रास्वपा’ लामिछाने यो निर्वाचनमा सर्वाधिक मतान्तरले विजयी हुने सांसद पनि बने । चितवन– २ बाट निर्वाचित लामिछाने ४९ हजार ३ सय मतसहित विजयी हुँदा नेपाली निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मतमात्र प्राप्त गरे।
लामिछाने र श्रेष्ठबीचको मतान्तर ३४ हजार ३ सय १२ छ। गणतन्त्र स्थापना भएयताका निर्वाचनमा कायम भएको यो नै सर्वाधिक ठूलो मतान्तर हो । यसअघिको ठूलो मतान्तर २०७४ को निर्वाचनमा कायम भएको थियो ।