एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा आज अन्तिम ८ मा पुग्नका लागि दुई टिम भिड्ने भएका छन् । समूहको अन्तिम खेलमा अर्जेन्टिनासँग २–० गोलले पराजित भएपनि नकआउट चरणमा स्थान बनाएको पोल्यान्डले प्रिक्वाटरफाइनलमा आइतबार साविक विजेता फ्रान्ससँग भिड्दै छ ।
नेपाली समयअनुसार ८ः४५ बजे सुरु हुने खेलमा समूह सीको उपविजेताका रुपमा पोल्यान्डले समूह डीको विजेता फ्रान्ससँग खेल्न लागेको हो ।
फ्रान्स समूहको अन्तिम खेलमा ट्युनिसियासँग पराजित भएको थियो । यद्यपी फ्रान्स समूह विजेता बन्यो । पछिल्ला दुईपटकका फिफा वर्ष खेलाडी लेवान्डोस्की ४० वर्षपछि पोल्यान्डलाई कम्तिमा क्वाटरफाइनल पु¥याउने प्रयासमा रहेका छन् ।
सन् १९८२ को विश्वकपमा पोल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो । पोल्यान्ड ३६ वर्षपछि पहिलोपटक नकआउट चरण पुगेर प्रिक्वाटरफाइनल खेल्न लागेको हो ।
पोल्यान्डका सर्वकालिन सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले जारी विश्वकपमा एक गोल मात्र गरेका छन् ।
फ्रान्सका एमबाप्पेले जारी विश्वकपमा ३ गोल र एक असिस्ट गरेका छन् । अघिल्लो विश्वकपका सर्वोत्कृष्ट युवा खेलाडी एमबाप्पे फिफा वर्ष खेलाडी बन्न प्रयाशरत स्ट्राइकर हुन् ।
ठुला प्रतियोगितामा पोल्यान्ड र फ्रान्स दोस्रोपटक भिड्न लागेका हुन् । यसअघि सन् १९८२ को विश्वकपमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएकामा पोल्यान्ड टाईब्रेकरमा पराजित भएको थियो।
यस्तै, फ्रान्सले पोल्यान्डसँग हालसम्म १६ पटक प्रतिस्पर्धा गरेकामा ८ जित, ५ बराबरी र ३ हार ब्यहोरेको छ । पोल्यान्डले अन्तिमपटक सन् १९८२ मा फ्रान्सलाई हराएको थियो। त्यसयता यी दुई टोलिबीच ७ पटक प्रतिस्पर्धा भएकामा फ्रान्सले ३ जित र चार बराबरी खेल खेलेको छ ।