कतार । कतारमा जारी फिफा विश्वकपका समुह चरण र अन्तिर १६ का केही खेलहरु हुँदासम्म गोल्डेन बुटको दौडमा अहिले ६ खेलाडी अगाडी आएका छन् । जसमा अर्जेन्टिनाका लिओनल मेस्सी, फ्रान्सका किलियन एम्बाप्पे, ईङल्याण्डका मार्कस राशफोर्ड, स्पेनका अल्भारो मोराटा, नेदरल्याण्डसका कोडी गाक्पो र इक्वेडरका इनर भलेन्सिया रहेका छन् ।
उनीहरुले हालसम्म ३/३ गोल गरेका छन् । गोल्डेन बुटको दौडमा अगाडी बढेका मध्ये इक्वेडर विश्वकपको समुह चरणबाटै बाहिरिएकोले इनर भलेन्सियालाई थप गोल गर्ने अवसर हुने छैन भने अन्य खेलाडीलाई भने थप गोल गरेर अग्रता लिने अवसर रहेको छ ।
त्यस्तै यस विश्वकपमा दुई गोल गरेर दोस्रो स्थानमा रहेका खेलाडी भने १७ जना रहेका छन् । जसमा राउण्ड १६ मा पुगिसकेका र अझै पनि गोल्डेन बुट जित्न सक्ने खेलाडीमा ब्राजिलका रिचार्लिशन, ईङल्याण्डका बुकायो साका, फ्रान्सका ओलिभर जिराउड, पोर्चुगलका ब्रुनो फर्नानडेज, जापानका रिटसु दोआन, कोरियाका चो गुए संग, स्पेनका फेरान टोरेज र स्वीजरल्याण्डका ब्रील एम्बोलो रहेका छन् ।
फिफा विश्वकप फुटबलमा गोल्डेन बुट सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ । त्यस्तै दुई खेलाडीले बराबरी गोल गरेमा गोलसहित धेरै असिस्ट गरेको खेलाडीलाई गोल्डेन बुट प्रदान गर्ने फिफाले जनाएको छ ।
त्यस्तै दुई भन्दा बढी खेलाडीले बराबरी गोल गरेको अवस्थामा भने विश्वकपमा कम मिनेट खेलेको खेलाडीलाई गोल्डेन बुट दिने फिफाले नियम बनाएको छ ।
२०१८ को विश्वकपमा ६ गोल गरेर ईङल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका थिए ।