काठमाडाैँ । पार्टी स्थापनाकाे छोटो समयमै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कमाल गरेको छ । उक्त पार्टीले अप्रत्यासित नतिजा ल्याएको भन्दै चौतर्फी चर्चा र बहस चलेको छ। चितवनको क्षेत्र नम्बर २ बाट लामिछाने भारी मतका साथ प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्धन्द्धीको भन्दा झण्डै ३ गुणा बढि मतले लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भारी मतान्तरका साथ लामिछाने निर्वाचित भए पछि उनका समर्थकहरुले चितवनमा भव्य विजय जुलुस निकालेका छन् ।
आफु बिजयी भए पश्चात लामिछानेले यसलाई जित भन्दा पछि परिक्षा सुरु भएको भनेका छन् । उनले विजयी र्याली नभनी धन्यवाद र्याली गर्ने भनेका छन् । आज बाट आफ्नो परिक्षा सुरु भएको भन्दै उनले आफुलाई बधाई दिन खादा मालाको समेत प्रयोग नगर्न अनुरोध गरेका छन् ।
लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् । चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् ।
लामिछानेले अहिले कुनै विजय र्याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् । उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् ।
‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’
देशव्यापी रुपमा लामिछाने नेतृत्वको पार्टीले आश्चर्यजनक परिणाम ल्याइरहेकोे छ । अहिले सम्म प्रत्यक्ष तर्फनै उक्त पार्टीले ७ सिटमा जित हासिल गरिसकेको छ भने समानुपातिक तर्फ तेस्रो स्थानको मत प्राप्त गरिरहेको छ । राष्ट्रिय राजनितिमै राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णायक भूमिकामा रहने सक्ने देखिएको छ ।