५ मंसिर, काठमाडौं ।
डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अनलाइनखबरसँग भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।
डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन् ।
यो पनि पढ्नुहोस्,
काठमाडौँ ७ मा पनि देखियो घण्टीले कमाल गर्ने संकेत, लियो अग्रता !
काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा रबि लामिछानेका पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले अग्रता लिएका हुन् ।
गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले भने १०८ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की मानुषी यमि भट्टराई (अस्मिता सिंह) चौथो स्थानमा छन् ।
एमालेका घिमिरेले ९३ मत पाउँदा माओवादी केन्द्रकी मानुषी यमि भट्टराईले ७५ मत पाएकी छन् ।
हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।