मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

मतदाताको साथले जयराम थापा उत्साहित !


  • KTM Khabar
  • बिहिबार, मंसिर १ २०७९
1K
SHARES

फाइल तस्विर

काठमाडौँ । मतदाताको दरिलो साथ मिलेको भन्दै काठमाडौँ क्षेत्र नम्बर ४ (२) का प्रदेशसभा सदस्य एमालेका उम्मेदवार जयराम थापा उत्साहित बनेका छन् । पन्ध्र दिन घरदैलो अभियानमा सरिक हुँदा जनताबाट पाएको साथ र मायाले आफ्नो जित लगभग निश्चित बनेको उनको दाबी छ ।

आफू जनताको सेवामा सधैँ प्रत्यक्ष रूपमा तल्लीन रहेकाले सोही अनुरूपको माया पाएको र जनताको साथ र समर्थनसहित यस पटक संसदमा आवाज मुखरित गर्न पुग्ने उनको जिकिर छ । थापा भन्छन्, ‘यो क्षेत्र एमालेको पुरानो गढ हो । साथै आफू योग्य सक्षम उम्मेदवार भएकाले पनि यस पटक मतदाताले भारी मतान्तरसहित मलाई विजय गराउने छन् ।’

लोकप्रिय युवा नेताको छवि बनाएको थापाले पार्टीभित्र पुस्तान्तरणको कुरालाई पटक पटक उठाउँदै आएका छन् । जनतामाझ युवा र नयाँ अनुहार भएकाले पनि उनी यो पटक मतदाताको रोजाइमा पर्ने सङ्केत देखिन्छ ।

यस क्षेत्रको समस्याको विषयमा दक्खल राख्ने थापा बुढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष भई काम गरिसकेको अनुभवी उम्मेदवार हुन् । त्यस कारण जनताले उनीबाट ठुलो अपेक्षा गरेका छन् ।

जनताको साथ र समर्थनलाई आत्मसाथ गरेका थापाले विकास, समृद्धि र जनताको सेवामा तल्लीन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यस पटक आफूलाई निर्वाचित गराएर ५ वर्ष जनताको सेवामा प्रत्यक्ष जोडिने बाटो खोलिदिन पनि मतदातासंग अपिल गरेका छन् ।

थापाले आफूलाई निर्वाचित गराएर पठाएपछि यी ११ वटा काम गर्ने वाचा गरेका छन् । एकीकृत खानेपानी बोर्ड मार्फत खानेपानी योजना लागू गर्ने, फोहर मैला व्यवस्थापन बोर्डमार्फत फोहर मैलाको समस्या समाधान गर्ने, रुद्रमती (धोबीखोला) सफाइ अभियानमार्फत स्वच्छ पानी बग्ने वातावरण बनाउने, युवाहरूको लागि करियर डेभलपमेन्ट (क्षमता वृद्धि) सेन्टर स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, प्रदेशस्तरीय पर्यटकीय बोर्ड बनाई पर्यटकीय क्षेत्रको गुरुयोजना तयार पार्ने, एक वडा एक खेल मैदानको अभियानलाई प्रदेशमार्फत स्तरोन्नति गरिने, एक वडा एक सार्वजनिक शौचालयको अभियानलाई निरन्तरता दिइने, प्रत्येक एक सय दिनमा जनतासंग साक्षात्कार कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
साथै, जनगुनासो, सर–सल्लाह र सुझावको लागि डिजिटल प्लेटफर्म बनाउने, महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको लागि विशेष कार्यक्रम ल्याउने र सार्वजनिक जग्गाको लगत राखी संरक्षणका विविध उपाय अपनाइने उनका प्रतिबद्धताहरू छन् ।

बुढानीलकण्ठ नगरपालिकाभित्रका १,२,८,९,१०,११,१२ र १३ नम्बर वडा रहेको यस क्षेत्रमा थापासंग नेकपा (एकीकृत समाजवादी) का नेता कुसुम कुमार कार्की प्रतिस्पर्धामा रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा