२३ कात्तिक, विराटनगर । बिहिबार सार्वजनिक विदा गरिएको छ । यो समाचार हो प्रदेश नम्बर १ को । प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा विदा दिएको हो ।
गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।
प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले जनाएका छन् ।
थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।
शेखरचन्द्र थापा मोरङको पथरी शनिश्चरेका बासिन्दा हुन् । उनले नेविसंघबाट आफ्नो राजनीतिका यात्रा सुरु गरेका थिए ।
पथरी शनिश्चरे ८ सोमबारेमा रहेको बुद्ध माध्यमिक विद्यालयमा २०४६ सालपछि पाँच वर्ष पढाएका थिए । त्यसपछि भने उनी राजनीतिमा थिए । २०५७ सालदेखि ८ वर्ष गिरिजाप्रसाद कोइरालाको सचिवालयमा काम गरे ।
गत असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेका थापा २४ गते गम्भीर बिरामी परे । अगाडिदेखि ज्वरो आएपनि उनी औषधि सेवन गरेर चुनावी अभियानमा थिए । अवस्था सुधार भएर विराटनगर ल्याएपनि उनलाई मंगलबार साझ श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
अस्पतालले आईसीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेपनि बुधबार विहान साढे १० बजे निधन भयो ।
क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट भानुभक्त ढकाल सत्तारुढ गठबन्धनबाट डा. सुनील शर्मा उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा शर्मालाई ढकालले पराजित गरेका थिए ।