शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

जयराम थापाको चुनावी एजेन्डाले उत्साहित मतदाता, देखियो शुभ संकेत !


  • शुक्रबार, कार्तिक १८ २०७९
9.9K
SHARES

फाइल तस्विर

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ४ निकै चर्चामा छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचन पश्चात् प्रधानमन्त्री बन्ने भन्दै भोट मागिरहेका छन् भने एमालेका नेता डा. राजन भट्टराई पनि उनलाई काउन्टर दिइरहेका छन् ।

त्यस भित्रकै प्रदेशसभा ४ (ख) मा पनि रोचक प्रतिस्पर्धा हुँदै छ । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत भइसकेका पूर्व प्रदेश सांसद कुसुम कार्की र नेकपा एमालेका युवा नेता जयराम थापाबिच कडा प्रतिस्पर्धा हुँदै छ । नेकपा एमालेका उम्मेदवार थापाले आन्तरिक भेटघाट सकाएर आफ्नो क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिसकेका छन् ।

घरदैलो अभियानमा थापालाई स्थानीय जनताको उत्साहित रूपमा समर्थन जनाएको पाइएको छ । बुढानीलकण्ठ नगरपालिकाभित्रका १,२,८,९,१०,११,१२,१३ वडा रहेको यो क्षेत्रमा थापाले पहिलो पटक उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यो क्षेत्रमा थापाले लामो समय स्थानीय राजनीति गरेर भिजेका कारण उनलाई सबैको साथ रहने विश्वास गरिएको छ ।

उनलाई यस क्षेत्रका सम्पूर्ण समस्याहरूको जानकारी भएको, बुढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष भई काम गरिसकेको अनुभवसमेत भएकाले जनतामा उनीबाट ठुलो अपेक्षा रहेको स्थानीय मतदाताले बताउने गरेका छन् । थापाले पनि यस क्षेत्र विकास, निर्माण र समृद्धिको दृष्टिले महत्त्वपूर्ण रहेको भन्दै जनताको आशालाई उत्साहमा परिणत गर्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन् ।

उनले निर्वाचन पश्चात् आफूलाई जनताले साथ दिए ११ वटा काम गर्ने वाचा गरेका छन् । एकीकृत खानेपानी बोर्ड मार्फत खानेपानी योजना लागू गर्ने, फोहर मैला व्यवस्थापन बोर्डमार्फत फोहरमैलाको समस्या समाधान गर्ने, रुद्रमती (धोबीखोला) सफाइ अभियानमार्फत स्वच्छ पानी बग्ने वातावरण बनाउने, युवाहरूको लागि करियर डेभलपमेन्ट (क्षमता वृद्धि) सेन्टर स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, प्रदेशस्तरीय पर्यटकीय बोर्ड बनाई पर्यटकीय क्षेत्रको गुरुयोजना तयार पार्ने, एक वडा एक खेल मैदानको अभियानलाई प्रदेशमार्फत स्तरोन्नति गरिने, एक वडा एक सार्वजनिक शौचालयको अभियानलाई निरन्तरता दिइने, प्रत्येक एक सय दिनमा जनतासंग साक्षात्कार कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

साथै, जनगुनासो, सर–सल्लाह र सुझावको लागि डिजिटल प्लेटफर्म बनाउने, महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको लागि विशेष कार्यक्रम ल्याउने र सार्वजनिक जग्गाको लगत राखी संरक्षणका विविध उपाय अपनाइने उनका उनका चुनावी प्रतिबद्धताहरू हुन् ।

यी मुद्धाहरु लिएर जनता माझ गएका थापालाई स्थानीय मतदाताहरूले जितको सम्भावना बलियो भएको भन्दै शुभकामना दिन थालेका छन् । यो क्षेत्रमा नेकपा एमाले एक ढिक्का भएको, जनताको नजर टेस्टेडभन्दा फ्रेस उम्मेदवारमा गएको र एमालेको पुरानो गढ भएकाले जितको सम्भावना झनै बढेको स्थानीय नेताहरूको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा